
झापा,३१ बैशाख । स्थानीय तह निर्वाचनअन्तर्गत पालिकाको पनि नतिजा आउन थालेको छ।शनिबार बिहानसम्म विभिन्न ७ वटा गाउँपालिकाको नतिजा आइसकेको छ।
यसअघि तीनवटा पालिका निर्विरोध भएकोमा अन्य चारवटा पालिकाको पनि परिणाम शनिबारसम्म आएको छ।पछिल्लो समय हिमाली जिल्लाको मतपरिणाम आउन थालेको छ। थोरै मतदाता रहेको मनाङ र मुस्ताङमा अन्तिम परिणाम आउन थालेको हो।
हालसम्म ७ पालिकाको मत परिणाम आइसकेको छ। डोल्पाका ३ वटा पालिकामा निर्विरोध निर्वाचित भएका थिए।बाँकी ४ वटामा एमालेले २ पालिका र कांग्रेसले २ पालिकामा जित हासिल गरेको छ।
७ पालिकाको परिणाममध्ये एमाले ३ पालिका, कांग्रेस र नेकपा एकीकृत समाजवादीले २–२ पालिकाको नेतृत्व पाएका छन्।
एमाले
मनाङको चामे गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्र बहादुर घले दोस्रो पटक निर्वाचित भएका छन्।६१० मत खसेको गाउँपालिकामा उनले ३२० मत प्राप्त गरेका हुन्।
निकटतम प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ दोर्जे लामाले २७९ मत पाएका छन्। उपाध्यक्षमा भने ३२५ मत ल्याउँदै कांग्रेसकी मिङ्मार डोमा लामा विजयी भइन्।०७४ को चुनाबमा पनि यो पालिकाको अध्यक्ष पद एमालेका घलेले नै जितेका थिए।
उपाध्यक्ष पद कांग्रेसले नै जितेको थियो। यसपटक एमाले र कांग्रेस दुबैले आफ्नो सिट सुरक्षित गरेका छन्।मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी भएका छन्।
उनका प्रतिस्पर्धी नेकपा समाजवादीका देवबहादुर गुरुङ १८५ मत प्राप्त गरेका छन्। २०७४ मा विष्ट स्वतन्त्र रुपमा निर्वाचित भएका थिए।त्यस्तै एमालेले डोल्पाको शे-फोक्सुन्डो गाउँपालिकमा धावा सम्डुक गुरुङ निर्विरोध निर्वाचित भएका थिए।
नेपाली कांग्रेस
मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन्।उनी १५८ मतसहित गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्ण लामाले १११ मत पाएका छन्।
खसेको ३०४ मतमध्ये ३५ मत बदर भएको छ। उपाध्यक्षमा भने एमालेका फुन्चो लामा निर्विरोध निर्वाचित भइसकेका छन्।
नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा ०७४ सालमा नेपाली कांग्रेसले नै जितेको थियो । त्यसबेला यहाँ निर्विरोध निर्वाचन भएको थियो ।मुस्ताङको घरपझोङ गाउँपालिकामा नेपाली कांग्रेसका मोहन सिंह लालचन विजयी भएका छन्।लालचनले ७ सय ६० मत ल्याउँदा एमालेका सञ्जयकुमार थकालीले ७ सय ५८ मत ल्याएका छन्।२०७४ मा नेकपा एमालेको तर्फबाट आस बहादुर थकाली विजयी भएका थिए।
उपाध्यक्षमा कांग्रेसकी जमुना थापा मगर ६ सय ९३ मत ल्याई विजयी भएकी छन्। एमालेकी मिमकुमारी शेरचनले ६ सय १८ मत ल्याएकी छन्।
एकीकृत समाजवादी
नेकपा एकीकृत समाजवादीले डोल्पाको काइके गाउँपालिका अध्यक्षमा अंगद कुमार राना निर्विरोध भएका थिए।उपाध्यक्षमा कांग्रेसका निमा बुढा निर्विरोध भएका थिए। २०७४ मा उनी नेकपा एमालेबाट निर्वाचित भएका थिए।
डोल्पाकै छर्का ताङसोङ गाउँपालिकमा नेकपा एकीकृत समाजवादी सोनाङ गुरुङ निर्विरोध भएका थिए। २०७४ मा उनी स्वतन्त्रबाटै पालिका अध्यक्ष बनेका थिए।