
इलाम ,२९ बैशाख ।नेकपा (एमाले) सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार उदय राईलाई स्थानीयवासीले नियन्त्रणमा लिएका छन् । उक्त गाउँपालिका–५ को जमुनामा बुधबार राति पुगेका उनलाई आर्थिक चलखेल गर्न लागेको आरोपमा नियन्त्रणमा लिइएको स्थानीयवासीको भनाइ थियो ।
उनसहित वडासदस्य पदकी उम्मेदवार सीता कार्कीलाई समेत नियन्त्रणमा लिइएको बताइएको छ । मौन अवधिमा दुबैजनालाई प्रचार–प्रसारको काममा लागेको आरोपमा स्थानीयवासीले होहल्ला गर्दै खेदाउन खोजेपछि सुरक्षाका लागि सशस्त्र प्रहरीले लागि नियन्त्रणमा लिएकोे हो । जिल्लास्थित सशस्त्र प्रहरी बलका प्रमुख सुरेश सापकोटाले असुरक्षित हुने देखिएपछि सुरक्षाका लागि राखिएको बताए ।
मौन अवधिमा उम्मेदवार राईले मतदाताहरूलाई पैसालगायतका प्रलोभनमा पार्न लागेको भन्दै स्थानीयवासीहरुले विरोध गरेका थिए । आचारसंहिता उल्लङ्घन गरेको भन्दै उनलाई कारबाही गर्नसमेत उनीहरुले माग गरेका थिए ।
मतदातालाई सामान बाँड्न खोजेको भन्दै ट्याक्टर नियन्त्रणमा
मौन अवधिमा भद्रपुरका मतदातालाई प्रभावित पार्न जिन्सी सामग्री बाँड्न लागेको भन्दै गाउँलेले एउटा ट्याक्टर नियन्त्रणमा लिएका छन्।
भाँडाकुँडा, प्लाष्टिकको कुर्सी र टेबल लोड गरेको मे १ त २०८७ नम्बरको ट्याक्टर बुधबार दिउँसो भद्रपुर नगरपालिका–७ स्थित बुधकरण चियाबगानको क्वाटरतर्फ गएको थियो।
बगानमा मजदुरी गरी बस्ने सन्थाल समुदायका मतदातालाई बाँड्न ती सामग्री ट्याक्टरमा हालेर लगेको स्थानीय बासिन्दाले दावी गरेका छन् । स्थानीयले सामग्री बाँड्नुअघि नै ट्याक्टरलाई नियन्त्रणमा लिएका थिए। त्यसपछि सामान्य विवाद भएपछि प्रहरी गएको थियो ।
ती सामग्री मतदातालाई बाँड्न ल्याएको भन्ने स्थानीयको दावी पुष्टि नभएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी बसन्त पाठकले बताए । उनले ती सामग्री त्यतिकै छोडिएको जानकारी दिए ।