
–छविराज ढकाल
पथरीशनिश्चरे , ३० चैत्र । प्रदेश नम्बर १ मा रहेका धिमाल समुदायको मौलिक पर्व जात्री पर्व शुरु भएको छ ।नयाँ वर्षको आगमनसँगै शुरु हुने यो जात्री पर्व हरेक वर्षको वैशाख २ गतेदेखि असार २ गतेसम्म धिमाल समुदायले मनाउने प्रचलन रहेको छ ।
नेपालका आदिवासी धिमाल जातिको उद्यमस्थल मानिएको मोरङको लेटाङ (भोगटेनी )स्थित राजारानीमा मेला लगाएर जात्री पर्व शुरु हुन्छ । उक्त स्थानमा दुई वटा राजा र रानीनामका पोखरीहरू रहेका छन् ।
ग्रामथानमा धिमाल जातिका मुल पुरोहित (धामी )ले सुर्योदय हुनु अगाडी र पछाडी गरी दुई चरणको विधिपूर्वक पूजा गरेपछि परेवा , हाँस कुखुरा, आदि पशुपंक्षीको वलि दिएर यो पर्व शुरू हुन्छ । पशुपंक्षीलाई वलि चढाएपछि मासु पकाएर त्यहाँ आउने धिमाल जातिका सन्तानहरूलाई प्रसाद मानेर खुवाउने प्रचलन रहेको छ।मोरङको भोगटेनीबाट शुरु भएपछि धिमालका बस्तीको टोलटोलमा यो पर्व पुग्ने गर्छ ।
प्रकृतिपुजक धिमालका मुख्य धामी-पुजारीले समस्त धिमाल जातिका सन्तानहरूलाई रोगब्याधि नलागोस्, बाली बिरुवा लगाउने बेलामा वर्षात् होस्, जंगली जनावरले दुःख नदियोस्, प्राकृतिक विपत्तिका घटनाहरु नहुन् जस्ता कामनासहित महाराजथानमा गएर सामूहिक पूजाआजा गर्ने गर्छन् ।
परापूर्वकालमा धिमाल जातिले यी समस्या समाधान गर्न ग्रामथानमा पूजा गरेपछि उनीहरूको कामना पूरा भएपछि यो पर्व मनाउदै आएको धिमाल जाति पत्रकार महासंघ नेपालको केन्द्रीय अध्यक्ष विजय धिमालले बताए ।
सिर्जातअर्थात् सामूहिक पूजा वा जात्री नयाँ वर्षको पहिलो चाड भएकाले सालभरि कसैलाई पनि रोगब्याधि नलागोस्, शोक नपरोस् र सुख शान्ति छाओस् भनेर मनाइने गरिएको हो। यस पर्वमा धर्म ठाकुर, लक्ष्मी, चौमाझी, बूढा ठाकुरलगायतको पूजा गरिने उनले जानकारी दिए ।यस पर्वले धिमाल जातिमा आपसी सद्भाव प्रगाण बनाउँदै बन्धुत्वको भावना विकास गराउने अगुवाको भनाई रहेको छ ।
हरेक वर्षको असार २ मनाइने यो पर्व धिमालका प्रदेश न १ का ९८ वटै टोलमा पालैपालो मनाइन्छ । जात्रीको अवसरमा गाउँगाउँमा मेलाको आयोजना हुने गरेको छ । जात्रीमा धिमाल आफूले भाकल गरेअनुसार वस्तु चढाउने पनि गर्दछन् धिमालले दुःख– बिरामी नहोस्, सन्तान प्राप्ति होस् भन्ने मनोकामना राख्ने र ती पूरा भएपछि जात्रीका बेलामा देउतालाई भाकलअनुसारका वस्तु चढाउने गर्दछन् ।
यो बेलामा धिमालका घरमा पाहुना आउने र उनीहरुलाई मासु तथा ‘चिचिरी’, ‘बगिया’ लगायतका परिकार खुवाउने पनि चलन रहेको छ ।
धिमाल वैशाखदेखि असारसम्मका दुई महिना धिमालका प्रत्येक टोलमा ढोल बजाएर रमाइलो गर्छन् । यस्तो मेलामा ढोलको आवाज ढङढङ आउने हुनाले कतिपयले ढङढङे भन्ने गरेको पनि पाइन्छ ।
मोरङको उर्लाबारीस्थित मंगलबारेमा रहेको धिमाल जाति विकास केन्द्रको परियोजनास्थलमा दुई महिनापश्चात सांस्कृतिक मेलाको आयोजना गरी जात्री पर्व सम्पन्न गरिन्छ ।