
दमक,२४ फागुन । यहाँस्थित नेपाल रेडक्रस सोसाईटीले दमकमा मुटु,मिगौला,उच्च रक्तचाप लगायतका रोगको निशुल्क स्वास्थ्य परीक्षण शुरु गरेको छ ।
नसर्ने रोगको संक्रमण दिनानुदिन बढ्दै गएपछि त्यसको न्यूनीकरणका लागि दमकको रेडक्रसले सरकारी तथा स्वास्य संस्थाहरुको सहयोगमा मुटु,मिगौला,सुगर तथा उच्चरक्तचाप रोगको उपचारमा सघाउँ पुरयाँउन निशुल्क रगत तथा पिसाव जाँच शुरु गरिएको रेडक्रसले जनाएको छ ।
उपशाखा सभापति प्रकाश बुढाथोकीका अनुसार मुटु,मिगौला,सुगर,उच्चरक्तचापको अवस्था,पहिचान (केएचडीसी ) कार्यक्रम शुरु गरिएको छ । उक्त कार्यक्रम सञ्चालन गर्न रेडक्रसले सदस्य गन्जबहादुर दाहालको संयोजकत्वमा एक उपसमिति गठन गरि काम थालिएको उनले बताए ।
केएचडीसीका कार्यक्रम संयोजक दाहालका अनुसार पाक्षिक रुपमा महिनाको शनिवार सञ्चालन हुने निशुल्क रगत तथा पिसाव जाँच गरिदै आएको छ । एक महिनादेखि यहाँ यो कार्यक्रम शुरु गरिएको उनले बताए ।
कार्यक्रम सञ्चालन गर्न दमक नगरपालिकाले आर्थिक सहयोग गरेको छ भने धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र दमक अस्पतालले प्राविधिक सहयोग पुरयाँउदैआएको छ ।
रगत तथा पिसाव जाँच गर्न दमक अस्पतालले सहयोग पुरयाँउदै आएको छ भने मुटु,मिगौला,सुगर र उच्चरक्तचापको संक्रमण भए त्यसवारे विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ डाक्टर सञ्जीव शर्मासहितका चिकित्सकहरुले स्वास्थ्य परामर्श दिदैआएको उपशाखा सभापति बुढाथोकीले बताए । यस कार्यक्रमबाट महिनामा दुई सय बढी सेवाग्रहीले सुविधा पाउदैआएका छन् । उनले भने, –‘यस कार्यक्रमले हरेक नागरिकको मुटु,मिगौलाको अवस्था पहिचान गर्न तथा त्यसबारे विशेषज्ञ स्वास्थ्य परामर्श पाउदैआएका छन् ।’
यसअघि पनि रेडक्रसले केएचडीसी कार्यक्रम आफनै तवरबाट सञ्चालन गरेता पनि कोभिड १९ जोखिमका कारण छ महिना नपुग्दै बन्द हुन पुगेको थियो । रेडक्रसले यसपटक भने यस कार्यक्रमलाई निरन्तरता दिने गरि काम थालिएको सभापति बुढाथोकीले बताए ।.