
दमक,६ फागुन । सरकारी अस्पतालका रुपमा विकास हुदै गएको दमक अस्पतालमा अव नसर्ने रोगका रोगीका लागि नयाँ कार्यक्रम बिस्तार गरिएको छ ।
अस्पतालकी अध्यक्ष समेत रहेकी नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले नसर्ने रोगका बारे स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न काठमाडौ इन्स्टिच्यूट अफ चायल्ड हेल्थसँग दमक नगरपालिकाले सम्झौता गरिएको जानकारी दिईन् ।
बिहिबार नगरपालिकाको सभाहलमा नगरका प्रमुख रोमनाथ ओली, उपप्रमुख अधिकारी र काठमाडौ इन्स्टिच्यूट अफ चायल्ड हेल्थका तर्फबाट अध्यक्ष प्रा.डा. भगवान कोईराला बीच त्यसबारे सम्झौता भएको हो ।
उक्त कार्यक्रम अन्तर्गत कार्डियो ( मुटु ) डाइबेटिज, सिओपिडि र पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर पहिचान गरि स्थानीयस्तरमै उपचारसम्म गर्न सकिन्छ । यहाँ उपचार सम्भव नभए धरान स्थित बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरेर पठाईने पनि बताइएको छ । धरानमा यहाँबाट पठाइएका बिरामीका लागि सहयोग गर्न छुट्टै हेल्प डेस्क स्थापना गर्न अस्पतालका सम्बन्धित व्यवस्थापन पक्षसँग परामर्स गरि सहकार्य गर्न सकिने प्रतिष्ठानका प्रा. डा. सञ्जिव शर्माले जानकारी दिए ।
सम्झौतामा सेवा सञ्चालन गर्नकालागि दुवै पक्ष आवश्यक सहकार्य गरेर काम गर्न तयार हुने, आवश्यकता र उपयोगिताका आधारमा यससँग सम्बन्धित सबै सरोकारवालाहरुले काम गर्ने र गराउने, कार्यक्रमलाई कार्यान्वयन गर्न आवश्यक पर्ने नीति बनाउन सरोकारवाला वीच सहकार्य गरी काम गर्ने उल्लेख गरिएको छ ।
संझौता कार्यान्वयनमा खुसी व्यक्त गर्दे नगर प्रमुख ओलीले अव यो सुविधा लिनैका लागि दमक बाहिर रहेका निजी अस्पतालमा महंगो शुल्क खर्चिनु पर्ने बाध्यता अव बिस्तारै हट्ने बिश्वास व्यक्त गरे । त्यसका लागि आवश्यक पर्ने जनशक्ति तथा उपकरण व्यवस्थापनमा केहि चुनौती देखिएपनि दमक तथा दमक आसपासका लागि यो कार्यक्रम महत्वपूर्ण भएको उनको भनाई थियो ।
नसर्ने रोग विस्तारै चुनौतीका रुपमा देखिदै गएकाले समयमै त्यस्ता रोग संक्रमण हुन नदिन स्वास्थ्य सावधानीसंगै लागिहाले तुरुन्त उपचार गर्न यस कार्यक्रमले सघाँउ पुरयाँउने उनले बताए ।
उनका अनुसार यसकालागि आवश्यक पर्ने जनशक्ति स्वास्थ्य मन्त्रालयले नैे दरबन्दी खडा गरेर पठाउन पनि माग गरिएको छ । यस विषयमा मन्त्रालयमा छलफल गरेर हुन सक्ने सम्मको सहयोग पुरयाँउने मन्त्रालयका नसर्ने रोग कार्यक्रमका संयोजक डा. फडिन्द्र बरालले बताए ।
नगरपालिकामा यो कार्यक्रमको सम्झौता पछि स्वास्थ्य अधिकारीको टोलीले दमक अस्पतालमा निर्माणाधीन भवनको समेत अनुगमन गरेको थियो । अनुगमन पछि मुटु रोग विशेषज्ञ समेत रहेका डा. कोईरालाले भवन भब्य बन्दै गरेको र यसको निर्माण सम्पन्न भएपछि यस क्षेत्रका नागरिकको स्वास्थ्यसँग जोडिएका अन्य सेवापनि यहाँबाट चलाउन सकिने सुझाव दिएका थिए ।
यसैगरी, बालबालिकाको स्वास्थ्य समस्याको निदान गर्ने उद्देश्यले नगरपालिकाको समन्वयमा काठमाडौ इन्स्टिच्यूट अफ चायल्ड हेल्थले दमकमा पनि छुटटै अस्पताल सञ्चालन गर्ने गरि काम अघि बढाएको डा. कोइरालाले बताए । दमक ७ स्थित नेपाल रेडक्रस सोसाईटी उपशाखाको भवनमा बाल अस्पताल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । टोलीले बाल अस्पताल निर्माणस्थलको पनि अनुगमन गरि जतिछिटो सेवा शुरु गर्न आफूहरु तयार भएको उनले सुनाए ।