
दमक,५ फागुन । झापाको कमल गाउँपालिका वडा नं. ६ का ११ बर्षिय बोनम्यारो एनिमिया रोगी युनिक थापाको जीवन बचाउन परिवारले सहयोगको अपिल गरेका छन् ।
लखनपुर चोक नजिकै घर भएका १२ वर्षिय थापा लामो समयदेखि रगत सम्वन्धि समस्याबाट पीडित परिवारले सवैसंग सरसहयोगको याचना गरेका हुन् ।
विरामीका आमा सुभद्रा थापाका अनुसार बालक ६ महिनाको हुँदा देखिनै स्वास्थ्य समस्या देखिन थालेको थियो । त्यस लगत्तै उपचार शुरु गरेका उनीहरुले नेपाल र भारतका अधिकांश अस्पतालहरु पु¥याए । ११ महिनाको हुँदा देखिनै नियमित जसो रगत दिई रहनु पर्ने अवस्था थियो । तर अहिले दिनहुँ जसो रगत दिनु पर्ने र जतिसक्दो छिटो बोनम्यारो ट्रान्सप्लान्ट गर्नु पर्ने चिकित्सकहरुले बताए पछि विपन्न आर्थिक अवस्थाको परिवार अत्यासमा परेको छ ।
गुजारामा समेत कठिन
युनिकका बुवा राजकुमार १५ वर्ष देखि वैदेशिक रोजगारीका क्रममा हाल दुवईमा छन् । भएको एक कट्ठा जमिन पनि रेलमार्गको भागमा परे पछि बेचबिखन हुने अवस्था छैन । ‘उहाँले विदेशमा कमाएको सवै पैसा छोराको उपचारमा सकियो’ सुभद्राले भनिन्–‘अहिले सम्म कति खर्च भयो, कुनै हिसाव छैन । जति कमाएको सवै खर्च उपचारमै हुँदैछ । उहाँ (श्रीमान) लाई पनि नेपालै फर्कने मन छ तर के गर्नु छोराको उपचारका लागि भए पनि आउने अवस्था छैन ।’
घरमा वृद्ध बुवा र आमा छन् । एउटी ५ वर्षकी छोरी छन् । आम्दानी केहि छैन । बाँस र माटोले बनाएको सामान्य घर छ । एकातर्फ छोराको उपचारको चिन्ता, अर्का तर्फ सानी छोरीको पढाई लेखाई । दैनिक गुजरा त गर्नुनै छ, त्यसमाथि वृद्ध बुवा आमाको हेरचार पनि अर्को जिम्मेवारी । ‘अब त हात नफैल्याई हुँदै भएन, सवैको साथ सहयोग भए छोराको उपचार सम्भव हुन्थ्यो……’–सुभद्राका गला अवरुद्ध भए ।
युनिक बचाउ अभियान
५ वर्षकी बहिनी युनिशा थापाको बोनम्यारो ट्रान्सप्लान्ट गर्न मिल्ने डाक्टरहरुले बताएका छन् । तर खर्च कति लाग्छ कुनै टुङ्गो छैन् । वडा कार्यालयले केहि सहयोग गर्न सक्ने भए पनि ठुलो रकम व्यवस्थापन कठिन भएको वडाध्यक्ष नरेन्द्र भट्टराई बताउँछन् । सरकारी तवरबाट प्राप्त हुने सहयोगका लागि प्रकृया अघि बढाईएको भन्दै उनले थप रकम जुटाउन सवैको सहयोग आवश्यक रहेको बताएका छन् ।
सहयोग संकलनका लागि वडाअध्यक्ष समेतको उपस्थितिमा स्थानीय अगुवा अरुण भण्डारीको संयोजकत्वमा युनिक बचाउ अभियान गठन गरिएको छ । दमकस्थित सुर्यदर्शन वचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक र बिरामी बालकका छिमेकी समेत रहेका उनले भने–‘अहिले बालकको जीवन बचाउने पहिलो कर्तव्य हामी सवैको हो, त्यसैले जति सकिन्छ सहयोग गर्न म सवैलाई आह्वान गर्दछु।’ अभियान गठनसँगै भण्डारीले ५० हजार रुपैयाँ प्रदान गरेका छन् । योसँगै अन्य व्यक्तिहरुबाट पनि सहयोग जुट्न शुरु भएको छ । तर २५ लाख रुपैयाँ भन्दा बढि लाग्न सक्ने भएकाले सवैले सक्दो सहयोग गर्न खाँचो रहेको छिमेकी हर्कबहादुर राया बताउँछन् ।
सहयोग गर्ने बाटो
बालक युनिकलाई सहयोग गर्न गठित अभियान शुरुवाती चरणमा छ । केहि दिनमानै समितिको बैंक सञ्चालनमा ल्याउने तयारी छ । तर हाल सहयोग गर्न ईच्छुकहरुले बिरामीको आमा सुभद्रा थापाको नाममा सानिमा बैंकमा रहेको खाता नं.००२०११०९००००३८४ मा सहयोग प्रदान गर्न सकिने छ । साथै परिवारसँग थप जानकारी लिन ९८१७९४४८ ३६ मा बिरामीको आमा सुभद्रासँग पनि सम्पर्क गर्न सकिने छ ।