
दमक, २८ माघ । झापाको कमल गाउँपालिका वडा नं ५ स्थित पाडाजुंगी नजिकै निर्माणाधीन आदिवासी रङ्गशाला निर्माणका लागि फेरि राजनीतिक पहल शुरु भएको छ ।
आदिवासी रङ्गशालाको नामबाट काम शुरु भए पनि पछि मदन भण्डारी अन्तर्राष्ट्रिय रङ्गशाला नाम परिवर्तन गरेर यहाँ रङ्गशाला बनाउन प्रस्ताव भएसँगै यहाँ विवाद हुँदै आएको छ ।
यस क्षेत्रमा रहेका ७ सय ४५ चिहान हटाएर दिवंगतहरुको सम्मान र सम्झनामा अन्तर्राष्ट्रिय स्तरको ‘आदिवासी रङ्गशाला’सहित स्मृति पार्क निर्माण गर्ने भनिएकोमा एकाएक नाम परिवर्तन गरेर मदन भण्डारी अन्तराष्ट्रिय रङ्गशाला बनाउने भनेपछि यसलाई आफूहरुले अस्वीकार गरेको आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानका अध्यक्ष हुकुमसिं राईले बताए ।
विसं२०६६ सालमा रङ्गशाला निर्माणका लागि त्यहाँ बर्षोदेखि रहेका ७४५ आदिवासीको चिहान हटाएर ‘आदिवासी रङ्गशाला’सहित स्मृति पार्क निर्माण गर्ने सहमति भई काम शुरु गरिएको थियो । तर पछिल्ला तीनवर्ष यता झापा क्षेत्र न. ५ का प्रतिनिधि सभा सदस्य समेत रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी रङ्गशाला बनाउने भनेर विवाद निकालेको आरोप लाग्दै आएको छ ।
नेपाली काँग्रेससहित अहिलको गठबन्धन सरकारमा रहेका राजनीतिक दलहरुको स्थानीय प्रतिनिधि मण्डलले सरोकारवाला निकाय तथा मन्त्रीहरुलाई भेट गर्दै आदिवासी रङ्गशाला निर्माणका लागि पहल गरिदिन आग्रह गरिआएका छन् ।
सोहि विषयलाई लिएर रंगशालाका अध्यक्ष राईको नेतृत्वमा काठमाण्डौ पुगेर सरकारका उच्च अधिकारीहरु भेटघाट गरि सहयोगका लागि स्मरण गराईएको रंगशालाका महासचिव दिपेनवाला राईले बताए । उनका अनुसार टोलीले गृहमन्त्री बालकृष्ण खाँडसँग बिहीबार भेटेर यस विषयमा जानकारी गराइएको छ । सरोकारवाला मन्त्रालय तथा मन्त्रीहरुलगायत प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका नेताहरुलाई पनि भेटेर यस बिषयमा जानकारी गराउने कार्यक्रम रहेको टोलीमा सहभागि काँग्रेस नेता राजु न्यौपानेले बताए ।
प्रतिनिधि मण्डलमा काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री भिष्मराज आङदेम्बे, केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य महेन्द्र कुमारी सुब्बालगायतले गृहमन्त्रीसहित सरोकारवालाहरुलाई आदिवासी रंगशाला तथा स्मृति पार्कलाई बजेट विनियोजन र भोगाधिकार कायम गरिदिन माग अघि बढाउन अनुरोध गरेको हो ।
रङ्गशालाका लागि सरकारले पहिलो पटक आर्थिक वर्ष २०६७– ०६८ मा एक करोड बजेट विनियोजन गरेको थियो । दोस्रो पटक पनि आर्थिक वर्ष २०७०–०७१ मा डेढ करोड र तेस्रो पटक आर्थिक वर्ष २०७१–०७२ मा ३५ लाख रुपियाँ बजेट आए पनि त्यसपछि भने अहिलेसम्म यो प्राथमिकतामा परेको छैन । आर्थिक वर्ष २०७३–०७४ मा पनि ‘मदन भण्डारी अन्तर्राष्ट्रिय रङ्गशाला’को नाममा एक करोड बजेट विनियोजन भए पनि विवादका कारण यो रकम फिर्ता भएर काम हुनसकेन् । कमलमा रहेको आदिवासी रंगशाला नामाकरणमा विवाद झिकेपछि ओलीले प्रत्यक्ष दबाबमा दमक ३ स्थित दुम्से खेल मैदानलाई मदन भण्डारी रंगशाला बनाउने योजना अघि सारेर बजेट समेत छुट्याएका थिए । तर,वजेट कार्यान्वयन हुन नपाउदै विवादका बीच शुरु हुन लागेको उक्त योजनालाई वर्तमान सरकारले प्राथमिकतामा नराखेपछि अलपत्र बन्न पुगेको छ ।