
उर्लाबारी, २६ माघ । मोरङको उर्लाबारी–९ रातेहोली किनारमा एक वर्ष अघि शिलान्यास गरिएको सन्थाल एकीकृत वस्ती विकास परियोजना यतिबेला अलपत्र भएको छ । सङ्घीय सरकारको शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागले शुरु गरेको परियोजनाको काम जग्गा विवादका कारण अझै शुरु हुन सकेको छैन् ।
परियोजनाको तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १८ गते ठूलो तामझामका साथ शिलान्यास गर्दै १८ महिना पछि सन्थालहरू झुपडीबाट घरमा सर्ने उल्लेख गरेका थिए ।
सन्थाल जातिका अति विपन्न १३२ परिवारलाई सुविधा सम्पन्न घर बनाएर राख्ने परियोजनाले स्थानीय स्तरमा खुसी छाएको थियो । करिव १७ करोडको उक्त परियोजनाका लागि सरकारले ठेक्का समेत लगाइसकेको थियो ।
सगुन कन्ट्रक्सनले निर्माणको जिम्मा पाएको थियो । त्यहाँ सन्थाल एकीकृत वस्ती ७ कट्ठा १६ धुर जग्गामा बन्नेछ । वस्ती भित्र बाल उद्यान , सन्थाल जातीय संग्रहालयसम्मका योजना रहेको थियो । तर, नगरपालिकाले राते होलीको खोला उकास जमिन खाली गर्न सहयोग नगरेकाले एकीकृत वस्ती निर्माण परियोजना अहिलेसम्म ज्यूँकात्यूँ बन्न पुगेको छ ।
शिलान्यास गर्दा राखिएको स्तम्भ समेत भत्किसकेको छ । उर्लाबारी नगरपालिकाका उपप्रमुख लक्ष्मीदेवी भण्डारीले स्थानीय केही राजनीतिक व्यक्तिको बहकाउमा परेर जग्गा जोतभोग गरिरहेकाले जग्गा छोड्न नमानेकाले परियोजना अघि बढ्न नसकेको बताउँछिन् ।
उनले राते होली खोलाको उकास जमिनमा परियोजना निर्माण हुन लागेको बताईन् । ऐलानी जमिन होइन तर पनि जसले उपभोग गरेका छन, उनीहरूको सहयोग नहुँदा करोडौंको आयोजना अघि बढ्न नसकेको उनको आरोप छ ।
नेपाली काङ्ग्रेस मोरङ १ (क ) का सभापति नरबहादुर मोक्तानका अनुसार कुनै वस्तीलाई आरोप लगाएर उप प्रमुख पन्छिन मिल्दैन् । खोला उकास जमिन भनिए पनि भोग चलन त्यस्तो अवस्थामा छैन । उनले नम्बरी जग्गामा खोलो कुदेको र साविक खोलो भएको उकास जमिन स्थानीय २६,२७ परिवारले उपभोग गरिरहेको बताए । जग्गा नाप नक्सा गरी जग्गाधनीको जमिन छुट्याएर खोला उकास जमिन कायम गर्ने काम नगरपालिकाको हो । जग्गा जोतभोग गरिरहेका स्थानीयसँग नगरपालिकाले समन्वय गर्ने हो भने परियोजनाको काम भोलिबाट सुरु हुनसक्ने मोक्तान जिकीर गर्छन् ।
सन्थाल जातिका अगुवा बुद्धिलाल सोरेन सरकारले निर्माण गरिदिएको घरमा बस्ने सपना पानीको फोका झैं फुटेको गुनासो पोख्छन् । उनले भने –‘ठूला नेताहरूबीच समन्वय नहुँदा हामी अन्यायमा परेका छौँ ।यसतर्फ जिम्मेवार पक्ष गंभीर बनिदिनु पर्छ ’