
इटहरी,२२ माघ । सुनसरीको लौकही क्षेत्रमा पर्ने भोक्राहा नरसिंह -३ र ६ को सिमानामा रहेको पुलमा यात्रुवाहक बस र मालवहाक ट्रक एक आपसमा जुध्दा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाईते भएका छन् ।
साँझ ७ बजेर ४० मिनेटमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ८ ख ८४९३ नम्बरको काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक रात्रि बस र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको सिमेन्ट बोकेको ना ५ ख २९९६ नम्बरको ट्रक एक आपसमा जुध्दा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सञ्जयसिंह थापाले बताए ।
यात्रुवाहक बस र ट्रक एकाआपसमा जुध्दा आगलागी समेत भएको थियो । आगो नियन्त्रण गरेर राति साढे ११ .३० बजे मात्रै पूर्वपश्चिम सडक सुचारु भएको थियो ।
दुर्घटनामा परि मृत्यु हुनेमा बस चालक पाँचथर घर भएको उमेर नखुलेको सुरेन राई, ट्रक चालक बारा निजगढ ९ का २७ बर्षिय शेख फिरोजको सनाखत भएको हो । बसमा सबार तत्काल नाम थर वतन नखुलेको एक पुरुष, ट्रक चालक तत्काल नाम थर वतन नखुलेका एक पुरुषको समेत मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
सो दुर्घटनामा परि घाईते हुनेहरुमा बसका कन्डक्टर झापा मेचीनगरपालिका -४ बस्ने वर्ष ३६ का रबिन ढुङ्गेल, मोरङ सुन्दरहरैचा ९ बस्ने वर्ष २२ को विक्रम कटवाल ,बसमा सबार दोलखा बिगु ७ बस्ने वर्ष ५६ को मिङमा शेर्पा, बारा निजगढ ९ बस्ने वर्ष ४० को दीपक श्रेष्ठ, बसको सहचालक उदयपुर चौदण्डीगढी- ४ बस्ने वर्ष २२ को दिल कुमार बिक, बसमा सबार महोत्तरी मठियानी ६ बस्ने वर्ष २९ को राहुल कुमार मण्डल, काठमाडौँ ३० बस्ने वर्ष ५० को सादकन मिया, भारत बस्ने वर्ष ४२ की मुना प्रधान, वर्ष ६० को उमेश लामा वर्ष ६५ की अमृता लामा रहेका छन् ।
यसैगरि घाईते हुनेमा बसमा सबार पाँचथर फिदिम १० बस्ने वर्ष ३८ को पेवाहाङ जगेबु, तेह्रथुम दाङगापा ९ बस्ने वर्ष ३३ को जित बहादुर लिम्बु र इलाम माई नगरपालिका ४ बस्ने वर्ष ४४ का गोपाल दाहाल घाइते भएका छन् । उनीहरूको विराटनगरको नोबेल र न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ ।