
पथरीशनिश्चरे,१९ माघ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल पथरीशनिश्चरे नगर कमिटीले आज यहाँ विरोध सभाको आयोजना गरेको छ । बुधबार नगर कमिटीका अध्यक्ष किसान राईको नेतृत्वमा उक्त विरोध सभा भएको हो।
स्थानीय निकायको निर्वाचन यथासमयमा गर्न , पेट्रोलियम पदार्थको अस्वाभाविक मूल्य बृद्धि तत्काल फिर्ता गर्न , अपराधिक अभिव्यक्ति दिने मन्त्री रेणुकुमारी यादवलाई तत्काल कारबाही गर्न , नेपालको भारतद्वारा अतिक्रमित लिपुलेकमा भारतले जारी राखेको सडक निर्माण कार्य अविलम्व बन्द गर्न माग गर्दै रत्नचोकबाट निस्किएको विरोध रयाली पथरी बजार क्षेत्रका विभिन्न मोड र चोक हुँदै जानते मोडमा पुगेर कोणसभामा परिणत भएको थियो ।
उक्त कोण सभालाई सम्बोधन राष्ट्रिय युवा संघ नेपालका पूर्व केन्द्रीय सदस्य समेत रहेका प्रदेश नं १ का उप – सचिव मणि लुम्फुवा लिम्बूले संविधानको रक्षाका लागि सरकारले स्थानीय तहको चुनाव गराउनु पर्ने बताए ।
सोहि अवसरमा नेकपा एमालेका केन्द्रीय सदस्य युवराज बाँस्कोटाले आमजनताले अबको निर्वाचनबाट उन्नत समाजवादको मोडेल विकास गर्ने औंल्याउँदै कांग्रेसको रूखमा झुसुल्किरा लागेर हरियो पात झरिसकेकोले यो कांग्रेसको रूखबाट सचेत रहन र टाढा रहन समेत आग्रह गरेका थिए ।
कोणसभामा यूवा संघका पूर्व केन्द्रीय सदस्य सञ्जिव गिरी तथा भक्त राई र वडा नं २ का यामप्रसाद गुरागाई , अनेरास्ववियुकी नेतृ नीता राई लगायतको उपस्थिति रहेको थियो।