वैदेशिक रोजगारीबाट फर्किएकामा कुष्ठरोग देखियो

कुष्ठरोग सम्बन्धी अन्तरकृयामा सहभागिहरु


झापा, १७ माघ । झापामा वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकबाट फर्किएकाहरुमा कुष्ठरोग देखिएको छ । जिल्लामा चालू आव २०७८-०७९ को पुस मसान्तसम्म यस्ता पाँच जनमाा कुष्ठरोग फेला परेका छ ।
नेपाल कुष्ठरोग जिल्ला कार्यक्रम प्रमुख परशुराम पोखरेलले बुद्धशान्ति गाउँपालिकामा दुई, झापा गाउँपालिका, दमक र बिर्तामोड नगरपालिकामा एक,एक जना कुष्ठरोगी फेला परेको जानकारी दिए । उनीहरुको रोग पहिचानपछि उपचार सुरुआत भइसकेको छ । यसबाट वैदेशिक रोजगारीबाट फर्किएकाहरु समेत कुष्ठरोगको जोखिम रहेको देखिन्छ । “विदेशमा काम गर्ने क्रममा धेरै जना एउटै कोठामा बस्ने गर्छन ”, उनले भने, “यसका कारण उनीहरु कुष्ठरोगको जोखिम हुन्छ ।”

जिल्लामा चालु आवको पुष मसान्तसम्ममा ३६ जना नयाँ कुष्ठरोगी फेला परेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिए । तीमध्ये एक,एक बालक र बालबालिका छन् । कुष्ठरोग निर्मूल पार्न ०–१४ वर्ष उमेर समूहलाई विशेष रुपमा हेरिन्छ । तर, दुई जना बालबालिकामा कुष्ठरोग देखिनुले उनीहरु कुष्ठरोगको जोखिममै रहेको देखिन्छ । जिल्लामा गत वर्ष १० बालबालिकामा कुष्ठरोग देखिएको कार्यालयले जनाएको छ ।
यसरोगको जटिलता अनुसार १४ जनालाई ६ महिने र २२ जनालाई एक वर्षे कुष्ठरोगको औषधि सेवन गराइँदैछ । जिल्लामा औषधिबाट मात्रै उपचार सम्भव नभएका बिरामीलाई कुष्ठरोग सेवा केन्द्र लालगढ र आनन्दवन पठाइँदै आएको छ । गत वर्ष त्यस्ता २१ जना कुष्ठरोगीलाई पठाइको जानकारी दिँदै उनले भने “यस वर्षपछि तीन,चार जना रोगीलाई थप उपचारका लागि पठाएका छौँ । ”जिल्लामा पछिल्लो चार वर्षयता कुष्ठरोगीको संख्या भने घट्दै गएको स्वास्थ्य कार्यालयको तथ्यांकले देखाउँछ छ । जिल्लामा आव २०७५-०७६ मा २१२ , आव २०७६-०७७ मा १४० र आव २०७७-०७८ मा ९५ जना कुष्ठरोगी फेला परेका थिए । यसैगरी चालु आवको छ महिनाका अवधिमा ३६ जनामा कुष्ठरोग देखिएको छ । यसले जिल्लामा कुष्ठरोगीको संख्या घट्दै गएको देखाउँछ ।
यसरोग निवारण अभियानमा जुटेका भने कोरोना भाइरसको सङ्क्रमणका कारण रोगीको पहिचान गर्न नसकिएकाले तथ्याङ्क कम आएको बताउँछन् । जिल्ला कार्यक्रम संयोजक पोखरेलले भने , “कोरोना कारण ‘केश फाइण्डिङ’को काम हुन सकेको छैन, अहिले देखिएका कुष्ठरोगी स्वतस्फूर्तरुपमा हाम्रो सम्पर्कमा आएका हुन् ।” जनस्वास्थ्य निरीक्षणक श्रेष्ठ सक्रिय खोजपड्ताल अर्थात घरघरमा गएर चेकजाँच गर्ने हो भने कुष्ठरोगीको संख्या बढ्ने बताउँछन् । उनले भने, “यो एउटा सामाजिक रोग हो, यो सामाजिक संस्कारसँग जोडिएको छ, त्यसैले यसलाई निर्मूल पार्नु चुनौतिपूर्ण काम हो ।”
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख ईश्वरी पौडेलले मानिसमा व्याप्त अज्ञानताले कुष्ठरोगलाई मलजल गरेको बताए । “सामाजिक विभेदको डर पनि लक्षण देखिए पनि कुष्ठरोग पहिचानका लागि मानिस आउँदैनन् ”, उनले भने, “यसले रोगको पहिचान नभएर समुदायमा कुष्ठरोगको जोखिम बढिरहेको छ ।” छाला र स्नायूमा असर गरी मानिसको शरीर अंगभंग हुने कुष्ठरोगको एक मात्रा औषधि सेवनले मात्र पनि रोगको सर्ने सम्भावना ९९ प्रतिशत घट्ने उनले बताए ।

कपिलवस्तु र बाँकेपछि झापा मुलुकभरमा कुष्ठरोगी संख्या बढी भएको झापा तेस्रो जिल्ला हो भने प्रदेश नं १ मा पहिलो हो । झापापछि मोरङ दोस्रो स्थानमा छ । सन् २०३० भित्रमा कुष्ठरोग मुक्त मुलुक बनाउने सरकारको लक्ष्य छ ।

विद्यालयमा खोप लगाउन थालियो
जिल्लाका विभिन्न विद्यालयमा आइतबारदेखि कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ । दुई हप्ताअघि कोभिड–१९ का कारण बन्द भएका विद्यालय खोप लगाउनका लागि आइतवारदेखि २० गतेसम्म सञ्चालनमा ल्याइएको छ ।
जिल्लाका ३६० सामुदायिकसहित झण्डै ७५० विद्यालयका विद्यार्थीलाई फाइजर,मोडर्ना खोप लगाउन सुरु गरिएको छ । जिल्लाका १५ वटै पालिकामा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने लक्ष्य छ । पालिकाहरुमा एक लाख १० हजार डोज खोप पठाइएको स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत चूडामणि लुईँटेलले जानकारी दिए ।
मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीका अनुसार नगरमा २३ खोप केन्द्र तोकिएको छ । जिल्लाका विभिन्न स्थानमा दुवै खोप लगाएका व्यक्तिलाई बुस्टर डोज दिन थालिएको छ । प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र सरकारी अस्पताललाई खोप केन्द्र तोकिएको छ ।

Leave a Reply

Your email address will not be published.