
दमक,१६ माघ । ८२ औ शहीद दिवसको अवसर पारेर नेपाली कांग्रेस दमक १ को वडा समितिले आज आइतबार साँझ दमकमा सामूहिक दिप प्रज्वलन गरेको छ ।
दमकको फाल्गुनन्द चोकमा साँझ भेला भएका कांग्रेसका स्थानीय नेता, कार्यकर्ताहरुले चार शहीदहरु शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, दशरथचन्द ठाकुर र धर्मभक्त माथेको विशेष स्मरण गर्दैै दिप प्रज्वलन गरेका हुन । सो अवसरमा सहभागीहरुले मुलुकको राजनीति शहीदहरुले देखाएको बाटोमा अघि बढन नसकिरहेको भन्दै चिन्ता व्यक्त गरे ।
लोकतन्त्र र स्वतन्त्रताका लागि भएका आन्दोलनको उपजमाथि हुने जुनसुकै किसिमको प्रहारबाट जोगाउने काममा कांग्रेसले विगतदेखिनै निर्वाह गर्दै आएको भुमिकामा कुनैपनि कारणबाट कमी आउन नदिन कार्यकर्ताहरुले नेतृत्वलाई सधैं खबरदारी गर्नु आवश्यक रहेको औंल्याए ।
कांग्रेस दमक १ का वडा सभापति गजेन्द्र देवानको सभापतित्व र झापा क्षेत्र नं ५ का सभापति ढुण्डीराज भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा झापा क्षेत्र नं ५ (ख )का प्रदेश क्षेत्र सभापति रवि केसी , दमक नगर सभापति प्रकाश प्रसाइँ, महाधिवेशन प्रतिनिधिहरु सत्यनारायण चौधरी, अइन्द्र केरुङ, नेपाल तरुण दलका क्षेत्रीय सभापति एवं दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकूल श्रेष्ठ, प्रदेश अधिवेशन प्रतिनिधिहरु पदम बुढाथोकी, उद्धव दाहाल, पूर्व प्रशासक गणेश अधिकारी लगायत नगर समितिका पदाधिकारी, क्षेत्रीय समितिका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको कांग्रेस दमक नगर सचिव दिपेश दाहालले जानकारी दिए ।