
मोरङ ,१४ माघ । मोरङको कटहरी गाउँपालिकामा ३ सय शैयाको सुविधासहित अस्पताल निर्माण गरिने भएको छ । कटहरी गाउँपालिकामा जीवन विकास समाजले सुविधासम्पन्न सामुदायिक अस्पताल तथा प्राविधिक शैक्षिक प्रतिष्ठान सञ्चालन गर्न लागिएको हो । बिहीबार एक कार्यक्रमबीच अस्पतालको समाजका संस्थापक अध्यक्ष योगेन्द्रप्रसाद मण्डलले शिलान्यास गरे । सो क्रममा अध्यक्ष मण्डलले अस्पताल तीन चरणमा निर्माण हुने जानकारी दिए ।
करिब १७ बिघा क्षेत्रफलमा निर्माण हुने अस्पताल ०८० सालको मंसिर मसान्तभित्र सम्पन्न हुने उनले बताए । विराटनगरको आशिष आशीर्वाद स्वामीनारायण जेभीसँग अस्पताल करिब अढाई अर्ब रुपैयाँमा निर्माण हुने गरी सम्झौता गरेको अध्यक्ष मण्डलले बताए ।
जसअन्तर्गत अस्पतालको पहिलो ब्लकमा ६५ करोड रुपैयाँ खर्च हुनेछ । न्यून सेवा शुल्कमा गुणस्तरीय सेवा प्रवाह गर्ने र नाफा कमाउने उद्देश्य नराखी काम गर्ने अध्यक्ष मण्डलको भनाइ छ ।
समाजले प्रदेशकै नमुना र गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यसहित गाउँपालिकामा अस्पताल निर्माण गरिने अस्पताल संयोजक दामोदर रेग्मीले जानकारी दिए ।