चलचित्र ‘काँडेतार’ को छायाङ्कन सम्पन्न

झापा,१२ पुस । चलचित्र ‘काँडेतार’ को सम्पूर्ण छायांकन सकिएको छ ।सिमानामा काँडे तारबार लगाउनाले दुई मुलुक बिचका नागरिक र भूमिको संरक्षण मात्रै हुँदैन छिमेकीसँगको सद्भाव समेत कायम रहन्छ भन्ने मूल कथासार रहेको उक्त चलचित्रको छायांकन सकिएको निर्माता नवल खड्काले बताए।

आफ्ना अघिल्ला चलचित्रहरुको निर्माण तथा प्रदर्शनमा आईपरेका अड्चनहरु सम्झदै ‘काँडेतार’ का निर्माण गरिएको निर्देशक समेत रहेका खड्का बताउँछन् । उनी भन्छन्( ‘विगतमा देशभक्तिपूर्ण चलचित्र निर्माण गर्दा विभिन्न थरिका तत्वहरूबाट निर्माण र प्रदर्शन समेतमा बाधा उत्पन्न गर्ने गरिएका कुरा स्मरण गर्दा यसपटक पनि षड्यन्त्र हुन सक्छ भन्ने चिन्ता लागेको छ । त्यसैले त्यस्ता कर्तुत बिरूद्ध लड्न सबैको सकारात्मक सहयोग अपेक्षा राखेको छु ।’

करिब ३ करोडको लगानीमा निर्माण भएको बताइएको ‘काँडेतार’ मा नवल खडका, गौरब पहाडी, रेविका गुरूङ, प्रशान्त यादव, सुरबिना कार्की, मुरलिधर, संजय खतिवडा, रोमियन लिम्बू, प्रेम सुब्बा, परशुराम चौधरी, पुष्प श्रेष्ठ, महेश गिरी, रवि शाह, केशव रायमाझी, राजेन्द्र भगत, पन्नालाल चौधरी, अञ्जु केसी, खेम नेपाली, देवेन्द्र कोईराला, रामबिश्वास थारू, मातृका घिमिरे, रितु चौधरी, रामेश्वर बुर्लाकोटी, प्रतिक श्रेष्ठ, प्रेम कार्की, छवि बैरागी घिमिरे बालकलाकार नादिया खड्का र सनया खड्का लगायतको अभिनय रहेको छ ।

नवल खडकाको निर्देशन रहेको ‘काँडेतार’ मा कार्यकारी निर्माता सत्यकला राई रहेकी छिन् भने लेखन शिवम अधिकारी र नवल खड्का, छायाङ्कन सौरभ लामा, द्वन्द्व श्री श्रेष्ठ, नृत्य कविराज गहतराज, एसोसियट निर्देशक रामशरण कोईराला, कास्टिङ निर्देशक केशव रायमाझी, मुख्य सहायक निर्देशक बिश्वजंग माझी, सङ्गीत मणि थापा र दीपक शर्माको रहेको छ ।

नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भनि लामो समयदेखि अभियान नै चलाएर हिंडिरहेका नवल खड्काले अन्ततः विषयमा जनजागरण ल्याउन र सरकारलाई घच्घच्याउन आफूले चलचित्र नै निर्माण गरेको कुरा बताएका छन् । व्यवसायिक धारलाई छाडेर लामो समयदेखि लगातार फरक धारका, राष्ट्र र राष्ट्रियताप्रति समर्पित एवं वीर नेपालीहरुको गाथामा आधारित चलचित्र निर्माणमा लागिरहेका खड्का सिने क्षेत्रमा ‘राष्ट्रवादी’ कलाकारको रुपमा समेत चिनिन्छन् ।

Leave a Reply

Your email address will not be published.