
दमक, ११ पुस । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेको बहुमत आउने दावी गरेका छन् । देशैभरि एमालेको पक्षमा जनलहर आएको दावी गर्दे एमालेको बहुमतलाई कसैले रोकेर ,छेकेर रोक्न नसक्ने उनको भनाई थियो ।
दमक ३ स्थित निर्माणाधिन दमक भ्यूटावरको अवलोकन पछि आज त्यहाँ आयोजित सभालाई सम्बोधन गर्दे उनले एमालेले गरेको कामलाई देखेर जनताले फेरि पनि तीनै तहको निर्वाचनमा एमालेलाई बहुमत दिएर जिताउने जोड दिए ।
एमालेलाई देशी,विदेशी शक्तिले सत्ताबाट हटाएको उल्लेख गर्दे उनले अव जनताले नै फेरि अत्याधिक मत दिएर एमालेलाई सिंहदरवारमा पुरयाँउने बताए । उनले भने,–‘जनताले एमालेलाई खोजेका छन्, आगामी निर्वाचनबाट त्यो प्रमाणित हुनेमा दुइमत छैन् ’
देशमा विकासको लहर चलाएकोप्रति रिस गरेर एमाले नेतृत्वको सरकार ढालेको आरोप लगाउदै उनले भने ,–‘ तपाईहरुले देख्नु भएको छ , प्रचण्ड एउटा खुट्टा तान्ने, माधव नेपाल अर्को खुट्टा तान्ने, झलनाथ खनाल अर्को खुट्टा तान्ने । कोही खुट्टा तान्ने । कोही बाहुला तान्ने । त्यसका बाबजुद पनि हामीले काम गरेको गरेकै छौं’
उनले आउदो चुनावमा प्रचण्ड ,माधव नेपाललाई जनताले लेखाजोखासहित जवाफ दिने धारणा राखे । उहाँहरुको चुरिफूरी चुनावसम्म मात्र भएको र चुनाव पछि बत्ती बालेर खोज्नु पर्ने उनको टिप्पणी थियो ।
शनिबार गृह जिल्ला झापा आएका ओली सोमबारसम्म दमकमा बस्ने कार्यक्रम छ । झापा क्षेत्र न. ५ का प्रतिनिधिसभा सदस्य समेत रहेका ओलीले आइतबार र सोमबार आफ्नो निर्वाचन क्षेत्रमा सञ्चालित विभिन्न आयोजनाहरुको अवलोकन तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।.