
शिवसताक्षी ,१९ मंसिर । शिवसताक्षी नगरपालिकाको आर्थिक सहयोगमा शनिवारदेखि तीन दिने नेतृत्व विकास तथा सचेतना अभिमुखीकरण तालिम सुरु भएको छ ।
नगरको ६ लाख ५० हजार आर्थिक सहयोगमा ११ वटै वडाका आदिवासी जनजातिको नेतृत्व विकास सचेतना सम्बन्धी अभिमुखीकरण तालिम सुरु गरिएको नेपाल आदिवासी जनजाति समन्वय परिषद शिवसताक्षीका कोषाध्यक्ष हेमन गुरुङले बताए । ‘हरेक वडामा रहेका आदिवासी जनजातिहरुलाई उनीहरुको उत्थानका लागि कार्यक्रम आयोजना गरिएको हो,’उनले भने ।
दुधेस्थित आदिवासी जनजाति सामुदायिक भवनमा सञ्चालित सो तालिमको आदिवासी जनजाति समन्वय परिषद झापाका अध्यक्ष भरतकुमार श्रेष्ठले तालिमको उद्धघाटन गरे । उनले सरकारले केहि हद सम्म आदिवासी जनजातिका मुद्धाको सम्बोधन गर्न न्युन कार्यक्रम ल्याएको बताए ।
तालिमको सहजिकरण आदिवासी जनजाति समन्वय परिषद झापाका पूर्व सचिव अधिवक्ता शम्भु थापा मगरले गर्ने छन् । आयोजक आदिवासी जनजाति समन्वय परिषद शिवसताक्षीका अध्यक्ष मणीकुमार माझीका अनुसार तालिम मंसिर १९ गते वडा नम्बर १, २ र ३ का आदिवासी जनजातिलाई वडा नम्बर २ मंगलबारेको वडा कार्यालयको तालिम हलमा, वडा नम्बर ४,५ र ६ का आदिवासीका लागि जनता बजार वडा नम्बर ४ मा २२ देखी २४ गते सम्म सञ्चालन हुने छ ।
यस्तै वडा नम्बर ८ र ११ का लागि झिलझिलेको किरात भवनमा २५ देखी २७ सम्म र वडा नम्बर ७, ९ र ११ का लागि दुधेको आदिवासी जनजाति भवनमा २९ देखि पुस १ गते सम्म तालिम हुने उनले बताएका छन् ।