
दमक,१८ मंसिर । यहाँस्थित रिलायन्स फाईनान्स लिमिडेटको बाह्रौ वार्षिकोत्सवको अवसरमा आज दमकमा ज्येष्ठ नागरिकलाई राहत सामाग्री वितरण गरिएको छ । फाइनान्सको दमक शाखाको आयोजनामा दमक ४ स्थित चियावगानमा रहेको ज्येष्ठ नागरिक बृद्धाश्रमका ज्येष्ठहरुलाई ७ थान सिरक,फलफूल,बिस्कुट,फ्रूटी लगायतका खाद्य सामाग्रीहरु वितरण गरिएको शाखा प्रवन्धक प्रकाश ढकालले बताए ।
“हाम्रो रिलायन्स राम्रो रिलायन्स” सन्देसका साथ आयोजित राहत हस्तान्तरण कार्यक्रममा बोल्दै शाखा प्रवन्धक ढकालले बैकिङ्ग सेवासंगै यस फाइनान्सले सामाजिक कार्यमा समेत विभिन्न कार्य गरिआएको र त्यस्ता सेवामुखी कार्यलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका थिए । रिलायन्स फाईनान्स एक राष्ट्रिय स्तरको फाईनान्स भएको र यसले देशभरी २१ वटा शाखा सञ्जालबाट ग्राहक बर्गमा वित्तिय सेवा प्रदान गर्दै आएको उनले जानकारी गराए ।

राहत हस्तान्तरण कार्यक्रममा आश्रमकी सञ्चालिका अन्जु सुनुवार,सामाजिक अभियान्ता काजी राउत,दिपेन्द्र पौडेल,तुलसा चापागाई,सन्तोस खतिवडा,घनश्याम सापकोटा समेतले रिलायन्सको बाह्रौ वार्षिकोत्सवको शुभकामना राख्दै रिलायन्सले सामाजिक कार्यमा पुरयाँएको सहयोग प्रति मुक्तकण्ठले प्रशंसा गरेका थिए ।