पथरीशनिश्चरेमा अमेरिकी इन्ट्रा फाउण्डेशनलाई स्वागत


पथरीशनिश्चरे, १७ मंसिर । मोरङको पथरीशनिश्चरे नगरमा स्थापित फुटबल प्रिमियर लिगको आयोजक समितिले अमेरिकामा नेपाली भाषीहरुद्वारा स्थापित इन्ट्रा नेशनल वेलफेर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको टोलीलाई स्वागत गरेको छ ।
स्थानीय खेलाडी उत्पादन गर्ने उदेश्यले पथरीशनिश्चरे फुटबल प्रिमियर लिग आयोजक समितिले गत बर्षदेखि लिग फुटबल आयोजना गर्दै आएको छ ।
इन्ट्रा नेशनल वेलफेर एण्ड सपोर्ट फाउण्डेसनले बिषेश गरी नेपालमा लामो समय शरणार्थीको रुपमा बसेर तेस्रो राष्ट्र पुनर्बास गएर बसेका नेपालीभाषीहरुले स्थापना गरेको संस्था हो । संस्थाले अमेरिका र नेपालका असाहय, अपाङ्गता तथा खेलकुद क्षेत्र बिकासको लागि सहयोग गर्दै आएको छ ।
फाउण्डेशनका अध्यक्ष डिल्लिराम अधिकारी सहितको टोली केही हप्ता अघिदेखि नेपाल आएको छ। फाउण्डेशनले भुटानी शरणार्थी विद्यार्थीहरु अध्ययन गर्दै आएको पथरीशनिश्चरे नगरको पञ्चायत मावि र हिरक आधारभूत विद्यालयमा केही शिक्षक समेत सहयोग गर्दै आएको छ ।
नेपाल आएको मौकामा फाउण्डेशनका अध्यक्ष अधिकारीको टोलीलाई पथरीशनिश्चरे फुटबल प्रिमियर लिग आयोजक समितिले स्वागत गरेको हो ।
पथरीशनिश्चरे २ स्थित शीनभिलेज पार्टी प्यालेसमा खादा, फुलमाला, झाँकीको साथमा केक काटेर टोलीलाई स्वागतको साथमा उत्सव मनाएका थिए । अमेरिका, नेपालको झण्डा र फुटबलको नक्सा अंकित केक बनाइएको आयोजक समितिको कोषाध्यक्ष श्रीहाङ राईले बताए । उक्त केक ३८ हजार रुपैयाँ बराबरको रहेको बताइएको छ।
स्वागत कार्यक्रममा पथरीशनिश्चरे नगर उपप्रमुख यमुना बिष्ट, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष धनकुमार तामाङ, पञ्चायत माविका प्रधानाध्यापक अर्जुन बुढाथोकी, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी कृष्ण खड्का लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा उपप्रमुख बिष्ट, प्रअ बुढाथोकी लगायतले स्वागत मन्तब्य राखेका थिए ।
आयोजक समितिका अध्यक्ष संजिव गिरी र सचिव मणि लिम्बूले फाउण्डेशनलाई नगरको फुटबल बिकासको लागि लिगलाई सहयोग गर्न फाउण्डेशन टोलीसँग अनुरोध गरेका थिए ।

फाउण्डेशनका अध्यक्ष डिल्लिराम अधिकारीले आउने सिजनदेखि प्रिमियर लिगलाई सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । अधिकारीले अमेरिकामा बर्षमा छ भन्दा बढी फुटबल लिग, भलिबल र क्रिकेटलाई सहयोग गर्दै आएको बताएका थिए । फाउण्डेशनले झापाको बेलडाँगी शरणार्थी शिविरमा बृद्ध आश्रमसमेत स्थापना गरिसकेको छ ।
फाउण्डेशनले भुटानी शरणार्थी असाहयहरुलाई सहयोग गर्नको साथै नेपाल र अमेरिकामा सांगीतिक, सांस्कृतिक कार्यक्रम गर्दै आएको छ भने पछिल्लो समय नेपाली कला, संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गर्न सहायता प्रदान गर्दै नेपालका चर्चित गायक-गायिका,नायक-नायिका , तथा अन्य कलाकार ,पत्रकारहरुलाई सम्मान प्रकट पनि गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published.