सभापतिलगायत पदमा आज मनोनयन दर्ता, भोलि चुनाव

दमक,१७ मंसिर । नेपाली कांग्रेसले सातै प्रदेशमा आज सभापतिलगायत उम्मेदवारहरूको मनोनयन दर्ता गर्ने तयारी गरेको छ। बिहीबार सभापति शेरबहादुर देउवाले भर्चुअल रूपमा सातै प्रदेशको अधिवेशन उद्घाटन गरेका थिए।
तर प्रदेश नम्बर १ मा भने बिहीबार उद्घाटन सत्र हुन सकेन। पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाका अनुसार आज बिहान उद्घाटन सत्र र बिहान ९ बजेदेखि उम्मेदवारहरूको मनोनयन दर्ताको समय छ।

सातै प्रदेशमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट प्यानलसहित नै उम्मेदवारहरू प्रतिस्पर्धामा उत्रने भएका छन्।

प्रदेश १ मा भने पूर्वमहामन्त्री सिटौला पक्षका उम्मेदवार उद्धव थापालाई सभापति देउवा पक्षले समर्थन गरेको छ। यहाँ पौडेल पक्षबाट केन्द्रीय सदस्यसमेत रहेका गुरूराज घिमिरे प्रदेश सभापति पदमा उठेका छन्।
प्रदेश नम्बर २ मा पनि अधिवेशनका काम अगाडि बढेका छन्। यहाँ प्रदेश २ संसदीय दलका नेतासमेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, महोत्तरीका जिल्ला सभापति महेन्द्रकुमार राय, सप्तरीका जिल्ला सभापति दिनेशकुमार यादव र रौतहटका सभापति कृष्णा यादवले सभापतिका लागि दाबी गरेका छन्।

बागमती प्रदेशमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। सभापति देउवा पक्षबाट संसदीय दलका नेतासमेत रहेका मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँ, वरिष्ठ नेपा पौडेल पक्षबाट नुवाकोट कांग्रेसका निवर्तमान सभापति जगदीश्वरनरसिंह केसी र पूर्वमहामन्त्री सिटौला पक्षबाट भीमसेनदास प्रधान सभापति पदका उम्मेदवार छन्।

गण्डकी प्रदेशमा सभापति देउवा पक्षले अर्जुन जोशीलाई सभापति पदमा उठाएको छ भने पौडेल पक्षले शुक्रराज शर्मालाई सभापतिमा अगाडि सारेको छ।

लुम्बिनीमा प्रदेश सभापति पदमा देउवा पक्षबाट सांसद भरत शाह र पौडेल पक्षबाट रोल्पाका निवर्तमान सभापति अमरसिंह पुन मगरलाई प्रतिस्पर्धामा उत्रने भएका छन्।

कर्णाली प्रदेशमा देउवा पक्षबाट ललितजंग शाहीको नाम चर्चामा छ भने पौडेल पक्षबाट भूपेन्द्रजंग शाही प्रदेश सभापति पदका उम्मेदवार छन्।

सुदूरपश्चिम प्रदेशमा पनि अधिवेशनको तयारी तीव्र छ। देउवा र पौडेल पक्षले यहाँ आफ्नो पक्षबाट सहमतिमै उम्मेदवार तय गर्ने बताइरहेका छन्।

सभापति देउवाको गृहप्रदेश सुदूरपश्चिममा देउवा पक्षबाट नरनारायण शाह, गोविन्द बोहरा, अर्जुन सिंहलगायतको नाम चर्चामा छ। पौडेल पक्षबाट भरत खड्का र कमल शाह प्रदेश सभापतिका आकांक्षी छन्।

आज उम्मेदवारहरूको मनोनयन दर्ता सकेर शनिबार चुनाव गर्ने तयारी कांग्रेसको छ। प्रदेश सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री तथा सदस्य पदका लागि चुनाव हुनेछ। कोषाध्यक्ष भने मनोनित पद हो।

प्रदेश सभा क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, सम्बन्धित क्षेत्रका केन्द्रीय सदस्य र सांसद प्रदेश अधिवेशनका मतदाता छन्।

Leave a Reply

Your email address will not be published.