
विराटनगर ,१५ मंसिर । नेपाली कांग्रेस मोरङको सभापतिमा पुनः डिगबहादुर लिम्बू निर्वाचित भएका छन् । पार्टी सभापति पदमा दाबी गरिरहेका कांग्रेस नेता डाक्टर शेखर कोइरालाको गृहजिल्ला मोरङमा लिम्बूले कोइरालाकै समर्थनमा जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।
उनले संस्थापन पक्षका उम्मेदवार दिलिप गच्छदारलाई पराजित गर्दै दोस्रो कार्यकालका लागि मोरङ सभापति पदमा बाजी मार्न सफल भए ।
लिम्बुले १९०६ मत प्राप्त गर्दा गच्छदारले १४२२ मत प्राप्त गरेका थिए । आइतबार भएको निर्वाचनको पहिलो चरणमा तीनन जना मध्ये कुनैपनि उम्मेद्वारले ५१ प्रतिशत मत पाउन नसकेपछि मोरङ काँग्रेस सभापतिका लागि मंगलबार पुनः मतदान भएको थियो ।
कोइराला पक्षका लिम्बू, सस्थापनका गच्छदार र कृष्ण प्रसाद सिटौला पक्षबाट यदु विष्ट बीचको प्रतिस्पर्धामा लिम्बू र गच्छदार मात्रै दोस्रो चरणमा प्रतिस्पर्धामा गएका थिए ।
दोस्रो चरणको मतदानअघि मोरङ काँग्रेसको समीकरणमा रोचक फेरबदल देखिएको थियो । संस्थापन पक्षका उम्मेद्वारलाई सिटौला पक्षले सघाउने घोषणा गरेपछि मोरङमा आफू बलियो बनेको प्रचार देउवा पक्षले गरेको थियो । डाक्टर कोइरालालाई जिल्लामै कमजोर बनाउने लक्ष्यसहित देउवा सिटौला गठबन्धन बने पनि उनीहरू सफल हुन सकेनन ।
आफू बलियो भएको देउवा पक्षको दाबीलाई गलत सावित गर्दै सस्थापनइतरका लिम्बुले चुनावी जीत हात पारे । केन्द्रमा बनेको शेरबहादुर देउवा–कृष्णप्रसाद सिटौलाबीचको नयाँ समिकरण मोरङमा पनि लागु भएको थियो ।
मोरङ काँग्रेसको चुनावकै सिलसिलामा नेता सिटौला दुई दिन विराटनगरमा बसेर देउवा पक्षसग मिलेका थिए । उनकै पक्षका भनेर चर्चा हुँदै आएका विराटनगर महानगरका प्रमुख भीम पराजुलीले सोमबारबाट आफूलाई खुलाउँदै औपचारिक रुपमा देउवा पक्षका उम्मेद्वारलाई सघाउने घोषणा गरेका थिए । सभापतिमा लिम्बुले जितेपछि कोइराला पक्षका कार्यकर्ताले शेखर कोइरालाको पक्षमा नाराबाजी गरेका थिए ।