
चितवन,१० मंसिर । आजदेखि चितवनमा नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । नारायणगढस्थित नारायणी नदी किनारमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गरे । महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि र विदेशका विभिन्न पार्टीका प्रतिनिधिको समेत उपस्थिति रहेको छ ।
नारायणी नदीको किनारलाई आकर्षक डोभ आकारको स्टेजमा कार्यक्रम सुरु भएको हो । महाधिवेशन उद्घाटनपूर्व स्टेजमा सांस्कृतिक कार्यक्रम र सडकमा झाँकीसहितका ¥याली निकालिएको थियो । नदी किनारमा नअटेपछि ठाउँठाउँमा राखिएका डिस्प्ले बोर्ड हेरेर प्रतिनिधि र परिवेक्षकसहित एमालेका नेता कार्यकर्ताले महाधिवेशन हेरी रहेका छन् । महाधिवेशनको सञ्चार माध्यम र सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रसारणसमेत गरिएका छन् ।
उद्घाटन सत्र हुने स्थल नारायणगढ र भरतपुर क्षेत्रमा एमालेको चुनाव चिह्न सूर्य र कम्युनिष्ट पार्टीको हसिया हथौडा अङ्कित झण्डा र ब्यानर सझाएर बजारलाई झकिझकाउ र सुन्दर बनाइएको छ । यससँगै ५० ठाउँमा आकर्षक स्वागतद्वार बनाइएको छ । उद्घाटन सत्रलाई व्यवस्थित गर्न कार्यक्रमस्थल र बाहिर पाँच हजार स्वयंसेवक परिचालन गरिएको छ ।
पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले उद्घाटन सभामा देशभरबाट पाँच लाखभन्दा बढी एमाले नेता कार्यकर्ता सहभागी हुने बताउनुभएको थियो । ठूलो सङ्ख्यामा मानिसको उपस्थिति हुने भएकाले १३ स्थानमा गाडी पार्किङस्थल बनाइएको छ । मालबाहक सवारी साधनलाई रोकेर अत्यावश्यक र यात्रुबाहक सवारी साधनलाई भने गन्तव्यतर्फ पठाउन वैकल्पिक मार्गसहितको व्यवस्थापन गरिएको छ ।
महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि र १०३ जना परिवेक्षक सहभागी हुने छन् । प्रतिनिधि भूगोल, जनसङ्गठन, विभाग र सम्पर्क कमिटी र प्रवासबाट सहभागी छन् । उनका अनुसार प्रतिनिधिमध्ये पाँच प्रतिशत अर्थात् १०६ जना मनोनीत गरिएका हुन् । प्रतिनिधिमा २०९ दलित, उत्पीडित र ६२७ महिला रहेको उनले जानकारी दिए । कूल प्रतिनिधि सङ्ख्याको ३० प्रतिशत महिला, १० प्रतिशत हाराहारी दलित, उत्पीडित रहेको उनको भनाइ छ । महाधिवेशनमा सल्लाहाकार १५ जनासहित पाका–पुराना १०३ जना पर्यवेक्षक रहने छन् ।
महाधिवेशनको बन्दसत्र सौराहामा हुँदैछ । मङ्सिर १३ गते पार्टीका प्रतिनिधि र सञ्चारकर्मीको उपस्थितिमा चितवन घोषणापत्र जारी गरेर महाधिवेशन सम्पन्न हुँदैछ । महाधिवेशन सम्पन्न गर्न रु सात करोड ५० लाख खर्च हुने र सो रकम एमालेकै नेता कार्यकर्ताबाट सङ्कलन भएको भट्टराईले जानकारी दिए ।
प्रम देउवासहितका शीर्षनेताको शुभकामना
चितवनको भरतपुरस्थित नारायणी नदी किनारमा आजदेखि सुरु भएको एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी विभिन्न पार्टीका शीर्ष नेताले शुभकामना दिएका छन् ।
एमाले महाधिवेशनलाई सफलताको शुभकामना दिँदै नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले नेपालमा कम्युनिष्ट पार्टीको एकता अनिवार्य रहेको बताए । उनले राष्ट्रिय हित र विकासमा मतभेद हुन नहुने धारणा राखे।
“कम्युनिष्ट आन्दोलनलाई सफलताको शिखरमा पु¥याउन एकता र धु्रवीकरण अपरिहार्य छ”, उनले भने “विचार र कार्यदिशा एकताको आधारशिला हो । एक्लो यात्राले समृद्धि हासिल गर्न कठिन छ ।” राष्ट्रिय हितका विषयमा सबै एकताबद्ध हुनुपर्नेमा उनले जोड दिए । एकता, सङ्घर्ष र सहकार्य निरन्तर चलिरहने प्रक्रिया हो भन्दै नेता पोखरेलले कम्युनिष्ट पार्टीको बीचमा मतभेद र तीक्तता भए पनि सहकार्य आवश्यक रहेको उल्लेख गरे।
जनता समाजवादी पार्टी (जसपा )का अध्यक्ष उपेन्द्र यादवले संविधानलाई समावेशी र सङ्घीयतालाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा राखे । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए ।
लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनसँग जोडिएका माग पूरा गराउन अधिकतम प्रयास गरेकामा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिए। ओलीले मधेस आन्दोलनका दौरान भएका सम्झौता कार्यान्वयन गरेको उनको भनाइ थियो ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कम्युनिष्ट पार्टी एकजुटको विकल्प नरहेको बताए । उनले कम्युनिष्ट एकताले मात्र देश र जनताको हित हुने धारणा राखे । देश र जनताका लागि दल एक ढिक्का हुनुको विकल्प नरहेको केसीको भनाइ थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एमालेका अध्यक्ष ओलीले राष्ट्रको हितमा काम गरेर नेपाली जनतालाई गुन लगाएको औल्याए । ओलीले लिपुलेक–लिम्पियाधुरासहितको नयाँ नक्सालाई संस्थागत गरेको उनको भनाइ थियो । चीनसँग व्यापार र पारवाहन सम्झौता गर्न सफल भएको अध्यक्ष थापाले बताए । उनले ओली सरकारले मधेसको पृथकतावादी आन्दोलन र विप्लव समूहलाई शान्तिपूर्ण अभियानमा ल्याएको उल्लेख गरे।
⁻⁻⁻