दमकबाट कांग्रेस जिल्ला सदस्यका उम्मेदवारहरु

दमक,९ मंसिर । भोलि अर्थात मंसिर १० गते हुन गईरहेको नेपाली कांग्रेस झापाको जिल्ला अधिबेशनको निर्वाचनमा धमाधम आकांक्षीहरुले उम्मेदवार प्रस्तुत गरेका छन् । जिल्ला सभापतिका उम्मेदवार देउमान थेवेको प्यानलबाट दमकका पदाधिकारी तर्फ उपसभापतिमा सामाजिक व्यक्तित्व शेरवहादुर भटटराई र सचिवमा सभापतिका अर्का प्रत्यासी राम कटटेलको समूहबाट संविधानसभा सदस्य विश्वदिप लिंगदेन,सहसचिवमा पदम लिम्बूको उम्मेदवारी परेको छ । त्यस्तै सदस्यहरुमा राजु तामांग, दमक क्याम्पसका स्ववियु सभापति विनोद चापागाइँ , पूर्व शिक्षक राजकुमार गौतम, पूर्व क्षेत्रीय सदस्य शेरवहादुर श्रेष्ठको उम्मेदवारी परेको छ । उनीहरुले उम्मेदवारी दर्ता संगै भोट माग्ने कार्य तीव्र पारेका छन् । जिल्ला सदस्यका उम्मेदवारहरु के भन्छन् त ?

पार्टीले दिएको जिम्मेवारी कूशलतापूर्वक पूरा मेरो उम्मेदवारी : गौतम
दमकका पुराना शिक्षक तथा नेपाली कांग्रेस दमक नगर उपसभापति राजकुमार गौतमले कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत १० मसिंरमा हुने अधिवेशनमा कांग्रेसको जिल्ला सदस्यमा उम्मेदवारी दिएका छन ।
लामो समय सम्म शिक्षण पेशा र सामाजिक कामहरुमा संलग्न हुँदै आएका गौतमले पार्टीको नगर समितिमा बसेर काम गरिसकेको अनुभवपछि १४ औं अधिवेशनदेखि जिल्ला नेताका रुपमा आफूलाई दर्ज गराउने यात्रामा होमिएका हुन ।
गौतमले भने– मैंले नगरमा रहँदा पार्टीले दिएको जिम्मेवारी कूशलतापूर्वक पूरा गरेको छु । प्रदेश क्षेत्र र संघीय निर्वाचन क्षेत्रमा पनि धेरै साथीहरु अटाउनु भएको छ अब जिल्ला सदस्यमा मलाई अटाउनु हुनेछ भन्नेमा विश्वस्त छु ।
नेपाल शिक्षक संघमा २०४८ सालदेखि आवद्ध भई यसअघि दमकको दुम्सेस्थित चुलाचुली आधारभुत बिद्यालयबाट शिक्षण सेवा शुरु गरेका गौतमले दिपिनी आबिबाट अवकाश लिएका हुन् । यस अघि शिक्षक संघको नगर सहसचिव र क्षेत्रीय कोषाध्यक्ष हुँदै पार्टी राजनीतिमा सक्रिय भएका उनको उम्मेदवारीले कार्यकर्ताहरु माझ चर्चा पाएको छ । गौतम धनेश्वर बचत तथा ऋण सहकारी संस्था, रुपान्तरण उपभोक्ता सहकारी संस्थाको सञ्चालक तथा ट्राफिक व्यवस्थापन समिति, ज्येष्ठ नागरिक प्रतिष्ठान, रेडक्रस लगायतका संस्थामा समेत आवद्ध छन् ।

पार्टीमा युवा ,विद्यार्थीको पहुँच बढाउन मेरो उम्मेदवारी : चापागाई
विनोद चापागाइँ दमकमा युवा बिद्यार्थीमाझ लोकप्रिय हुँदै प्राज्ञिक क्षेत्रमा उदाउँदो नाम हो । नेविसंघ झापाको नेतृत्व गर्दै बिद्यार्थी आन्दोलनमा सक्रिय सहभागी हुदै आएका चापागाइँ दमक बहुमुखी क्याम्पसमा निर्वाचित स्ववियु सभापति पनि हुन ।

एमालेको पकड क्षेत्र मानिएको दमकमा रहेको पूर्वकै प्रतिष्ठित र नाम चलेको सामुदायिक क्याम्पसका रुपमा रहेको दमक बहुमुखी क्याम्पसका हजारौं बिद्यार्थीको नेतृत्वदायी निकाय स्वतन्त्र बिद्यार्थी युनियन ( स्ववियु )सभापतिमा विजयी भएर यस क्षेत्रमा स्थापित बनेका चापागाइँले मसिंर १० मा हुने कांग्रेस झापाको निर्वाचनमा जिल्ला सदस्य पदमा उम्मेदवारी दिएका छन् । पार्टीमा युवा बिद्यार्थीको पहुँच स्थापित हुँदै गएको पुस्तान्तरणको प्रकृया चलिरहेकाले आफूले पनि नेतृत्व वर्गको सुझाव र सल्लाहका आधारमा सो पदमा उम्मेदवारी दिएको चापागाइँको भनाई छ । दमक ३ ढुकुरपानीका स्थायीबासिन्दा बिद्यार्थी नेता चापागाइँले स्नाकोत्तर तह सम्मको अध्ययन पूरा गरेका छन् । उनी एक बर्षदेखि दमक बहुमुखी क्याम्पसमा अध्यापन समेत गराउँदै आएका छन । दमकको राजनीतिमा उदाउँदो नयाँ पुस्तामा चापागाइँलाई शालिन, भद्र र अनुशासित व्यक्तित्वका रुपमा लिइन्छ ।

पार्टी संगठन सुढृण गर्न मेरो उम्मेदवारी : तामाङ
विद्यार्थी राजनीतिबाट कांग्रेसमा प्रवेश गरेका दमक ९ का युवा व्यक्तित्व राजु तामाङले कांग्रेस जिल्ला सदस्यमा उम्मेदवारी दिएका छन् । विद्यार्थी ,तरुण दल हुदै पार्टीमा लामो सांगठानिक अनुभव र योगदान पुरयाँएका उनले पार्टी हित तथा संगठन निर्माणका लागि यसपटकको जिल्ला अधिबेशनमा जिल्ला सदस्यका रुपमा योग्य प्रस्तुत गरेका हुन् । पार्टीमा यतिका समयसम्म काम गरिआएको र अव जिल्ला सदस्य भएर काम गर्न उम्मेदवारी दिएको उनको भनाई छ ।
साविक दमक १५ ( हाल दमक ९ ) को दुई कार्यकाल वडासभापति भएर वडाको पार्टी संगठनको नेतृत्व गरिसकेका उनले पार्टी संगठन तथा आन्दोलनका क्रममा पटक पटक गिरफतारी समेत परेका छन् । पार्टीले दिएको जिम्मेवारी अत्यन्त कुसलता पूर्वक पूरा गरिआएका उनले अव जिल्ला सदस्य भएर दमकसहित समग्र जिल्लाको नै पार्टी संगठनको काम गर्नका लागि उम्मेदवारी दिएको दावी गर्छन् । पार्टी बाहेक विभिन्न सामाजिक संघसंस्थामा सक्रिय युवा नेता तामाङ भन्छन्, –‘दमकका सम्पूर्ण क्षेत्रीय प्रतिनिधि,वडा सभापति ,नगर सभापति तथा नेतृत्वले पक्कै सहयोग पुरयाँउनु हुने छ ’

श्रेष्ठ भन्छन्, –‘पार्टीको काम गर्न मेरो उम्मेदवारी ’
कमल ५ का शेर बहादुर श्रेष्ठले कांग्रेस झापाको जिल्ला सदस्यमा उम्मेदवारी दिएका छन । कांग्रेसका क्षेत्रीय सदस्य भएर कामको जिम्मेवारी सम्हालिसकेका श्रेष्ठले झापाको निर्वाचन क्षेत्र नं ५ अन्तर्गतको कमल गाउँपालिकाबाट जिल्ला सदस्य पदमा उम्मेदवारी दिएका हुन ।
आसन्न १४ औं महाधिवेशन अन्तर्गत हुने अधिवेशनमा सामाजिक तथा व्यवसायीक क्षेत्रका अगुवा समेत रहेका श्रेष्ठले उम्मेदवारी दिँदै आफनो राजनीतिक यात्रालाई जिल्ला तर्फ मोडनु पर्ने समय भएको बुझेर नै जिल्ला सदस्यमा उम्मेदवारी दिएको बताए ।
संघीय निर्वाचन क्षेत्रीय समिति सदस्य समेत भएर एक कार्यकाल बिताइसकेका श्रेष्ठले शुभेच्छुकहरुको सल्लाह र सुझाव अनुसारनै सो पदमा उम्मेदवारी दिने निधो गरेको बताए । पार्टी संगठन निर्माणलाई गति दिन आफू थप जिम्मेवारी लिन तयार रहेको भन्दै सहयोगका लागि आग्रह गरेका छन् । उनले भने, –‘काम गर्नका लागि मैले उम्मेदवारी दिने निधो गरेको छु ,यहाँहरुको अवश्य सहयोग प्राप्त हुने छ । ’ निर्माण व्यवसायी समेत रहेका श्रेष्ठ स्थानीय चन्द्र दर्शन बचत तथा ऋण सहकारीका संस्थाक अध्यक्ष पनि हुन ।

Leave a Reply

Your email address will not be published.