मुलुकमा संघीय गणतन्त्र असफल: राप्रपा अध्यक्ष थापा

दमक,२८ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले मुलुकमा संघीय गणतन्त्र असफल भइसकेकाले जनताले यसको विकल्प खोज्नु पर्ने बेला आएको औल्याएका छन् ।
दमकमा आज पार्टीको प्रदेश १ कार्य समितिको प्रथम एकता अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले लोकतन्त्र र संघीयताका नाममा सर्वसत्तावाद हावी हुँदै गएकाले अहिलेको ब्यवस्था माथिनै प्रश्नचिन्ह खडा भएको बताए । सरकार सञ्चालनको प्रसङ्ग उठाउँदै अध्यक्ष थापाले भने , –‘अहिलेको सरकार जनादेशबाट नभई परमादेशबाट चलेकाले स्थायी नहुने मात्र होइन सरकारको आडमा भ्रष्टाचार मौलाएको गएको छ ।’
उनले अबको विकल्प भनेको राजसंस्थासहितको हिन्दुराष्ट्र भएको भन्दै आफूहरुको एजेण्डामा जनताको चासो बढ्दै गएको दावी गरे । उनले भने ‘मुलुकमा कम्युनिष्ट र काँग्रेस असफल भइसकेकाले अबको विकल्प अरु नभएर राप्रपा नै हो, अब राप्रपाले एकताको अधिवेशन गरेर मुलुकलाई हाँक्न सक्नुपर्छ त्यो तागत हामीसँग छ ।’
पार्टीभित्रको विवाद समाधान हुँदै गएकाले अब सहमतिबाट नै पार्टी अघि बढ्नुको विकल्प पनि नभएकाले एकताको सन्देश दिन पनि आफू झापा आएको उनको भनाई थियो । झापा जिल्ला राप्रपाको मुटु भएको भन्दै उनले झापाले सिंगो देश हाँक्ने सामथ्र्य राख्नु पर्ने जोड दिए ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै झापा क्षेत्र नं. ३ का संघीय सांसद तथा नेता राजेन्द्र लिङ्देनले काँग्रेस र कम्युनिष्टबाट जनता आजित भइसकेको भन्दै राप्रपाले जनताको भावना समेट्न सक्नुपर्ने बताए । उनले भने ‘जनताले नयाँ टेष्ट खोजिरहेका छन्, संघीयता खारेजीको माग राप्रपाको मात्र नभएर आम राष्ट्रिबादीहरुको हो । अब राजा चाहिन्छ, हिन्दुराष्ट्र चाहिन्छ, संघीयता चाहिन्न ।’ नेता लिङ्देनले पार्टीमा नेतृत्वले योजना बताउन नसकेका कारण आफू भूमिकाविहिन हुन पुगेको भन्दै शिर्ष नेतृत्वले आफुलाई चिन्न नसकेको भन्दै दुःख समेत ब्यक्त गरे ।
प्रदेश नं. १ का अध्यक्ष राम थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश एकका १४ जिल्लाका पार्टी प्रतिनिधि तथा पर्यवेक्षकको उपस्थिति रहेको थियो ।
भोलिसम्म चल्ने राप्रपाको प्रदेश अधिबेशनको बन्द सत्रले नयाँ नेतृत्व चयन गर्ने जनाईएको छ ।
राप्रपाले आज एकैदिन देशभरका सातै प्रदेशमा अधिवेशन गरेको छ । राप्रपाले आगामी मंसिर ११,१२ र १३ गते केन्द्रीय अधिवेशनको गर्ने तय गरेको छ ।

Leave a Reply

Your email address will not be published.