
दमक,२८ कार्तिक । नेपाली कांग्रेसको यही मसिंर ३ मा हुने प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशनमा नेपाल तरुण दल झापाका उपसभापति एवं कांग्रेस लखनपुरका तत्कालिन सभापति राजकुमार न्यौपाने प्रदेश अधिवेशन प्रतिनिधिका उम्मेदवारीको सूचीमा छन ।
कमल गाउँपालिका अन्तर्गत तत्कालिन लखनपुरका स्थायीबासिन्दा न्यौपाने पार्टी संगठनको साखलाई उचो बनाउन निरन्तर सक्रिय जुझारु कार्यकर्ता हुन् । उनी कांग्रेस झापाको संगठन विभाग सदस्य पनि हुन् । स्पष्ट दृष्टिकोणसहित कांग्रेसको आन्तरिक अधिवेशनमा होमिएका न्यौपाने पेशाले व्यवसायी पनि हुन । राजनीतिलाई सेवाको माध्यम ठान्ने न्यौपाने पेशाका रुपमा भने विभिन्न क्षेत्रमा लगानीकर्ताको रुपमा छन् ।
दमकमा पेप्सीको आधिकारिक डिलर सञ्चालन गर्दै आएका उनी वित्तिय क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । दमकमा सञ्चालित द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाका लेखा समिति संयोजक समेत रहेका उनी राजनीतिमा बिद्यार्थी कालदेखिनै प्रवेश गरेका हुन् । २०४६ सालमा नेविसंघको सदस्यता लिएर इलामबाट शुरु भएको उनले राजनीतिक , सांगठनिक यात्रालाई निरन्तरता दिन आफू प्रदेश अधिवेशन प्रतिनिधिको उम्मेदवारका रुपमा अघि सरेका हुन् । न्यौपाने भन्छन–राजनीति मेरो पेशा होइन मैंले व्यवसायलाई पेशाका रुपमा अंगालेको छु यहाँ कांग्रेसीहरु राजनीतिलाई पेशा बनाएर कार्यकर्ताहरुलाई आर्थिक प्रलोभनमा पारेको देखिन्छ यो सरासर गलत अभ्यास हो । उनले कांग्रेसमा शुद्धिकरण र सुदृढीकरण संगै बैचारिक रुपमा सहमत भएर फराकिलो घरमा आउन खोज्ने सबैलाई ठिक तरिकासंग व्यवस्थापन गर्ने व्यवहारको खाँचो भएको पनि औंल्याएका छन् ।
पार्टीको चुनावी दौरानमा नेता कार्यकर्ताले देखाएको सक्रियता स्थानीय र अन्य निर्वाचनमा देखाएका भए निर्वाचनको परिणाम पक्कै राम्रो आउने थियो भन्ने लागेको बताउँदै न्यौपाने भन्छन– पार्टीमा रुपान्तरण र परिवर्तन मनदेखि ल्याउने हो न कि फेसबुक वाल रंगाउन र सस्तो लोकप्रियता कमाउन । पार्टीलाई स्थानीय चुनावदेखि माथिल्लो तहका सबै चुनावहरुमा विजयी गराउने रणनीतिक योजना आवश्यक भएको देखेका उनले अबको पार्टी नेतृत्वले त्यसतर्फ ध्यान केन्द्रित गर्नुपर्ने सुझाव पनि राखेका छन् ।