
झापा , ५ कात्तिक । प्रदेश १ सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रादेशिक सञ्चार प्रतिष्ठान सञ्चालक समितिमा धमाधम गरिरहेको नियुक्तिप्रति विभिन्न पत्रकारजन्य संगठनहरुले आपत्ति जनाएका छन् ।
नेपाल प्रेस यूनियन, प्रेस सेन्टर, समाजवादी प्रेस संगठन र प्रेम मञ्च नेपाल लगायतका पत्रकारजन्य संगठनले संयुक्त विज्ञप्ति निकालेर कानुनतः निर्धारित समयभित्र संसदबाट विश्वासको मत प्राप्त गर्न नसकी सान्दर्भिकतामै प्रश्न उठिरहेको यस सरकारले हतार–हतार गरिरहेको नियुक्तिले पत्रकारिता क्षेत्रमा गलत नजिरमात्र स्थापित गरेको छैन, प्रादेशिक सञ्चार प्रतिष्ठानको गरिमालाई समेत ध्वस्त बनाउने कार्य गरिरहेको ठहर गरेका छन् ।
प्रेस सेन्टर नेपाल १ नं. प्रदेश समितिका संयोजक श्रीशीशा राई, नेपाल प्रेस युनियन १ नं. प्रदेश समिति सचिव धनबहादुर पुरी, समाजवादी प्रेस संगठन प्रदेश नं. १ का इन्चार्ज तीर्थ सिग्देल र प्रेस मञ्च नेपाल सङ्घीय समितिका केन्द्रीय उपाध्यक्ष एवम् प्रदेश १ इन्चार्ज कमन देवानले संयुक्त प्रेस विज्ञप्ति जारी गरी प्रादेशिक सञ्चार प्रतिष्ठानलाई राजनैतिक उद्देश्य पूरा गर्ने माध्यम नबनाउन र पत्रकारिताजस्तो जिम्मेवार क्षेत्रलाई राजनीतिको प्रभावमा नपार्न माग गरेका छन् । साथै उनीहरुले भईरहेका नियुक्ति तत्काल रोक्न र भएका नियुक्ति तत्काल खारेज गर्न जोडदार माग गर्दै गलत ढंगबाट भएका यस्ता नियुक्तिको प्रलोभनमा नपर्न सम्पूर्ण श्रमजीवी पत्रकारहरुमा हार्दिक आव्हानसमेत गरेका छन् । एकपछि अर्को नियुक्ति गर्दै आएको प्रादेशिक सञ्चार प्रतिष्ठानले हिजो मात्र झापाकी भीमा शिवाकोटीलाई सदस्यमा मनोनयन गरेको थियो ।