
काठमाडौँ ,२६ असोज । मुगुमा भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या २४ पुगेको छ । २३ जनाको घटनास्थलमै र एकजनाको उपचारका लागि लैजाने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी चित्रबहादुर भट्टराईले जानकारी दिए ।
‘कुल २४ जनाको ज्यान गएको छ। १८ जना घाइते भएका छन् । गम्भीर घाइतेलाई उपचारका लागि सुर्खेत हुँदै सुविधा सम्पन्न अस्पताल लैजानका लागि हेलिकप्टर आएको छ। अरुको यहाँकै अस्पतालमा उपचार भइरहेको छ’, डिएसपी भट्टराईले भने ।
प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरीका डिएसपीसहितको टोली अहिले घटनास्थलमा रहेको उनले जानकारी दिए।
‘दुर्घटनास्थल सदरमुकामबाट साढे दुई घण्टाको पैदल दूरीमा रहे पनि मौसमका कारण सञ्चार सम्पर्क हुन सक्ने अवस्था छैन। उद्धार प्रयासमा यसले समस्या भएको छ’, उनले जानकारी दिए।
नेपालगञ्जबाट मुगुको गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस सडकबाट अन्दाजी साढे दुई सयमिटर तल खसेको हो ।
दुर्घटनास्थल जुम्ला–मुगु सडकखण्ड अन्तर्गत मुगुको राराछायानाथ–७ पिनातपने खोलामा सञ्चार सम्पर्क कमजोर रहेकाले विस्तृत विवरण आउन कठिन भएको हो ।