
पथरीशनिश्चरे, १६ असोज । चाडपर्व नजिकिएसगैं हुनसक्ने अवैध एवं अवाञ्छित गतिविधि रोक्न मोरङ जिल्लाभरी उच्च सतर्कतासहित सुरक्षा सक्रियता बढाइएको छ ।
भारतसँग सीमा जोडिएका जिल्लाका सीमा क्षेत्रमा विशेष सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
चाडपर्व लक्षित सुरक्षा योजना अनुसार शान्ति सुव्यवस्था कायम गर्नका लागि सुरक्षाकर्मीहरू परिचालन गरिदै छन् । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका गरी १५ सय ७६ सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।
भारतसँग सीमा जोडिएका स्थानलाई उच्च प्राथमिकताका साथ अनुगमन र निरीक्षण गर्न पनि थालिएको छ ।यसैगरी , महत्त्वपूर्ण स्थान, हाटबजार , व्यवसायिक तथा औद्योगिक केन्द्रको सुरक्षा योजना बनाई सुरक्षाकर्मी परिचालन गरिएको छ भने चाडपर्वका बेला विशिष्ट व्यक्तिको समेत आवागमन हुनसक्ने भएकाले त्यसतर्फ पनि ध्यान पुर्याउदै सुरक्षा सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए ।
यात्रुहरूका लागि हेल्पडेस्क स्थापना गर्ने, सकेसम्म अनलाइन प्रणालीबाट टिकट वितरण गर्ने , बसपार्क लगायतमा भिडभाड हुन नदिने, यात्रुहरूको सुरक्षा व्यवस्था मिलाउने र लुटपाट हुन नदिने भन्दै चौबिसै घण्टा सुरक्षाकर्मी परिचालन गरिने भएको हो ।
साथै ,चाडपर्व नजिकिँदै जाँदा रोजगारीका लागि भारत गएका नेपाली फर्कने क्रम पनि सुरु भएको छ । योसँगै पर्व मनाउन सामान किनमेलका लागि आवतजावत गर्नेको पनि सीमा नाकामा भीडभाड सुरु भइसकेको छ ।सिमा नाकामा भिडभाड बढेसँगै कोरोना भाईरसको सङ्क्रमण रोक्न र नियन्त्रण गर्नका लागि सीमामा हेल्थ डेस्कलाई प्रभावकारी बनाइएको छ । भारतबाट नेपाल प्रवेश गर्नेको एन्टिजेन परीक्षणको व्यवस्था पनि मिलाइएको छ । साथै , कोरोना पोजेटिभ देखिए आइसोलेसनमा राखेर उपचार गर्ने व्यवस्था समेत गरिइएको छ ।
पछिल्लो समयमा जिल्लामै कोरोना सङ्क्रमण घट्दो क्रममा रहेको र चाडपर्वमा किनमेल गर्नुपर्ने भएकाले हाटबजार खोल्ने समय पनि बढाइएको छ । बेलुका ८ बजेसम्म सञ्चालनमा हुँदै आएको बजार एक घण्टा थप गरी राती ९ बजेसम्म खोल्न पाउने व्यवस्था मिलाइएको हो ।
यसैगरी, यातायात सुचारु राख्न पनि प्रशासनले यातायात व्यवसायीसँग छलफल गरेको छ । सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, स्यानिटाइजरको प्रयोग गर्नु पर्ने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने र दैनिक रूपमा डिस्इन्फेक्सन गर्ने निर्णय भएको छ । कोरोना सङ्क्रमण घटे पनि जोखिम कायमै रहेकाले पूर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गर्न प्रशासनले अनुरोध गरेको छ ।
यसैगरी, उद्योग कलकारखाना स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न भनेको छ । सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्थाहरूमा समेत अनिवार्य रुपमा मास्कको प्रयोग गर्न निर्देश गरेको छ । उद्योग व्यवसायी, स्थानीय तह लगायत सम्पुर्ण राजनीतिक नेतृत्वलाई समेत कोरोनाबाट जोगिनका लागि अपनाउनु पर्ने सबै स्वास्थ्य मापदण्डको पालनाका लागि सहयोग र सहजीकरण गर्न पनि आग्रह गरेको छ ।