
पथरीशनिश्चरे , १३असोज । अनलाइनमार्फत कृषिका समस्या र त्यसको समाधानका बारेमा जानकारी दिन मोरङको पथरीशनिश्चरेमा १ नम्बर प्रदेशकै पहिलो ‘जिओकृषि एप’ सुरु भइसकेको छ ।
सोहि सन्दर्भमा यसको मुख्य सहयोगी संस्था अष्ट्रेलियन एडका प्रतिनिधिले बुधबार अनुगमन समेत गरेका छन् ।लुथरन विश्व संगठन अन्तर्गत अष्ट्रेलियन एडको जेनेभाकी रिजनल कोअर्डिनेटर सुसन मोयुस, अष्ट्रेलियन दुतावास काठमाडौंकी कामक्ष राई याक्थुम्बा सहितको टोलीले नगरको जिओकृषि एप र सो ‘डिजिटल कृषि सेवा केन्द्र’को सञ्चालन तथा व्यवस्थापन कार्यबारे अनुगमन गरेको छ । अनुगमन्का क्रममा मोेयुसले नेपालकै पालिकामध्येमा सम्भवत यो पहिलो काम सुरु भएकोमा खुसी व्यक्त गरे साथै , उनले भूटानी शरणार्थी र स्थानीय नगरवासीबीचको सर्वपक्षीय सहकार्यको थप अपेक्षा गरेको बताए ।
जवाफमा जिओकृषि एप सञ्चालनको तालिममा भूटानी शरणार्थीलाई पनि जोडेर कृषि क्षेत्रमा प्रोत्साहित गरेको नगर प्रमुख दिलीपकुमार राईले जानकारी गराए । शरणार्थी र स्थानीयबीचको सहकार्यमा कृषि, पशुपालन कार्यक्रम सञ्चालनमा रहेको र मानवीयताको आधारमा शरणार्थीका लागि रोजगारमा रोकटोक समेत नगरिएको उनले वताए ।
उक्त अवसरमा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, नगरको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहाल, जिओकृषिका सहजकर्ता उमेश दनुवारले जानकारी गराएका थिए । १० वटै वडामा रहेको कृषि सञ्जालमार्फत कृषिको गतिविधि भएको र हालसम्म एपका बारेमा शरणार्थी सहित गरी १ सय ४० जनालाई तालिम दिइएको बताइएकोछ ।
जिओकृषिको प्राविधिक सहयोगमा अष्ट्रेलियन एड, अष्ट्रेलियन लुथरन वल्र्ड सर्भिस, द लुथरन वल्र्ड फेडेरेशनको सहकार्य तथा पथरीशनिश्चरे नगरपालिकाको व्यस्थापनमा लुथरन सामुदायिक कल्याण समाजले नगरमा जिओकृषिको कार्यालय असोज ७ गते उद्घाटन गरेको थियो । पछिल्लो समयमा हेफर इन्टरनेशनलमार्फत अभियान नेपाल पनि जिओकृषि एप सञ्चालन तथा व्यवस्थापनको साझेदार बनेको छ ।
कृषकहरु घरमै बसेर बाली लगाउने तथा पशुपालनको तरिका, त्यसमा देखिएका समस्या, रोगको बारेमा जानकारी गराई त्यसको समस्या समाधान एवम् उपचारका बारेमा एपमार्फत जानकारी पाउने छन् । समस्याको समाधानको उपाय नगरका कृषि तथा पशु प्राविधिकले बताउने छन् । आवश्यक परे विज्ञहरुसँग पनि जानकारी लिएर जवाफ दिइने छ ।
नगरमा लुथरनले नमूनाका रुपमा केहि कृषक समूहसँग अघिल्लो वर्षबाट एपमा जोड्ने काम थालेको थियो । जस अन्तर्गत समूहमा गई इन्ड्रोइड मोवाइल र नेट उपलब्ध भएका सदस्यलाई एप चलाउने जानकारी गराउँदै एप रजिष्ट्रेशन गराउन सुरु गरेको थियो । हालसम्म नगरका १ सय ६८ जना एपमा दर्ता भएका छन । अव प्रत्येक समूहका २,२ जनालाई समूहमा गएर एप चलाउन सिकाउनेगरिको टट तालिम प्रदान गर्ने योजना छ । साथै कार्यालयमा कृषकका लागि वस्ने, छलफल गर्ने, जानकारी प्राप्त गर्ने कार्यका लागि एलइडी टीभी राखेर इचौतारी निर्माण समेत गरिनेछ ।
पथरीशनिश्चरेमा लुथरनले १६ हजार र अभियान नेपालले ५ सय कृषकलाई एपमा जोड्ने लक्ष्य बनाएको छ । झापा र मोरङका ५ पालिकामा कृषि र पशुको कार्यक्रम सञ्चालन गर्ने क्रममा अभियान नेपाले पनि पहिलो पटक पथरीशनिश्चरेमा जिओकृषि एप सुरुवात गरेको छ ।
सुरुको समयमा सो एपमा कृषि सम्बन्धि मात्र जानकारी समावेश गरिएकोमा हाल आएर कुखुरा र गाईको जानकारी थपिएको छ । अव चाँडै बंगुरको पनि थपिने समाजका अध्यक्ष जोसेफ सोरेनले उल्लेख गरेका छन् । कृषकले ‘जिओकृषि फार्म’, संस्था तथा सहकारीले ‘जिओकृषि एक्सटेन्सन’ र प्राविधिकहरुले ‘जिओकृषि इन्टरप्राइजेज’ नामक एप सञ्चालन गर्नुपर्ने उल्लेख छ । कार्यालय उद्घाटनका अवसरमा संस्थाले कार्यालयका लागि ल्यापटप, प्रिन्टर, फर्निचर सहित २ लाख ५६ हजार बराबरको आवश्यक सामगी प्रदान गरेको छ । पथरी शनिश्चरेका १० वटा वडामध्यें वडा नम्बर १ बाहेकका ९ वटा वडा कृषिमा आधारित छन् ।