महिलालाई टुक्रा पारी खोलामा बगाउने चार पक्राउ

झापा , ६ असोज । जग्गा सम्बन्धी विवादमा एक महिलालाई काटेर टुक्रा टुक्रा पारी झापा गाउँपालिका १ स्थित सानोमाई खोलामा बगाउने चारजनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
गत भदौ २५ गते दिउँसो १२.३५ बजे कम्मरभन्दा माथिको भाग तथा घुडाभन्दा मुनिको भाग नभएको, आन्द्राभुँडी निस्किएको महिलाको अर्ध शरीरको विभत्स शव फेला परेको थियो । लासको प्रकृति हेर्दा शंकास्पद देखिएकोले जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय कुमरखोदबाट घटना सम्बन्धमा अनुसन्धान गर्नेक्रममा विभिन्न मानिसहरु मिली महिलालाई हत्या गरेको भन्ने गोप्य सूचना प्राप्त भएको थियो ।
मृतक झापा गाउँपालिका वडा नं १ माईती घर भई भारत किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत बस्ने अन्दाजी ५० वर्षिया डोली भन्ने धोन्नी टुडु भएको खुल्न आएको थियो ।

गत भदौ २४ गते राति धोन्नीलाई झापा गाउँपालिका वडा नं १ माई खोला किनारमा मारी धारिलो हतियार प्रयोग गरी शरीरको बिभिन्न भागमा काटी टुक्रा–टुक्रा पारेर खोलामा फालेको खुल्न आएको थियो ।घटनामा संलग्न चारजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा मृतकका भान्जा भारत किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत बस्ने २३ वर्षिय ऐतवार सोरेन , मृतकका सौताको भाइ झापा गाउँपालिका वडा नं १ बस्ने ३७ वर्षिय लखन टुडु सतार, सोही ठाउँ बस्ने ५६ वर्षिय सिरी साईला भन्ने सोमाई हेमरम सतार र २७ वर्षिय हेमरम सतार रहेका छन् । मृतकका भान्जा ऐतवार सोरेन र मृतकका सौताको भाइ सोमाइ हेमरम घटनामा प्रत्यक्ष संलग्न भएको र पक्राउ परेका अन्य दुईजनाले घटना सम्बन्धमा प्रत्यक्ष थाहा भएर घटना लुकाउन सहयोग गरेको पाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए । त्यस्तै घटनामा प्रत्यक्ष संलग्न मृतकका देवर भारत किसनगञ्ज सिंघीमारी ग्राम पञ्चायत बस्ने अन्दाजी ४५वर्षिय मण्डल हेमरम (सतार )भने फरार रहेको र भारतीय प्रहरीको सहयोगमा उनको खोजी भइरहेको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिए ।

श्रीमानको निधन भएको १५ दिनपछि धोन्नीको हत्या भएको हो । छोराछोरी कोही नभएकी धोन्नीको उनको देवरसँग जग्गा सम्बन्धी विवाद रहेको थियो । सोही कारणले उनको हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक भट्टराईले बताए ।

Leave a Reply

Your email address will not be published.