अनेमसंघ क्रान्तिकारीले दमकमा बुझायो १२ बुँदे ज्ञापन पत्र

दमक,५ असोज । नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल नेपाल महिला संघ क्रान्तिकारीले दमक नगरपालिकालाई विभिन्न समसामयिक बिषयहरु समेटिएको १२ बुँदे ज्ञापन पत्र बुझाएको छ । सो संगठनले दमक नगरपालिका प्रमुख रोमनाथ ओलीलाई सोमबार ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा शिक्षण संस्था र स्वास्थ्य संस्थाहरु ( जस्तै बिद्यालय, अस्पताल )जस्ता क्षेत्रको निश्चित दुरी सम्म धुम्रपान, मद्यपान र तास जुवारहित क्षेत्र घोषणा गर्न, माध्यमिक तह सम्म किशोरी मैत्री वातावरण बनाउन किशोरीहरुलाई आराम कक्ष शौचालयको व्यवस्था र शौचालयमा सेनेटरी प्याडको व्यवस्था गर्न, नगर भित्रका माबिमा एक जना स्टाफ नर्सको सेवा उपलब्ध गराउन, आमाको नामबाट सहज रुपमा नागरिकता पाउने व्यवस्था गर्न, छोरा सरह छोरीलाई सम्पत्तीमा समान अधिकार स्थापित गर्न, लैंगिक उत्तरदायी बजेट कम्तीमा १० प्रतिशत व्यवस्था गरी महिलाहरुलाई सीपमुलक काम सिकाउन , महिला हिंसा मुक्त पालिका घोषणा गर्न माग गरिएको छ ।
त्यस्तै ज्ञापन पत्रमा हिंसा पीडित महिलाहरुका लागि दिर्घकालिन योजनासहित सेफ हाउसको व्यवस्था गर्न, सबै गर्भवती महिलालाई अस्पतालमै सुत्केरी गराउने व्यवस्था मिलाउन , हिंसा पीडित महिलालाई न्यायिक समिति मार्फत तत्कालन न्याय दिलाई सरकारी सेफ हाउसमा बसोबासको व्यवस्था मिलाउन , छोरीको लागि जन्मपछि खाताको व्यवस्था र माध्यमिक तह सम्म निशुल्क शिक्षा उपलब्ध गराउन पनि माग गरिएको छ । त्यस्तै संगठनले कुलतमा फसेका बालबालिकालाई बाल सुधार गृहको व्यवस्था गर्न पनि स्थानीय सरकारको ध्यानाकर्षण गराएको ज्ञापन बुझाउने टोलीमा सहभागी लक्की सिटौलाले जानकारी दिइन् ।
सो ज्ञापन पत्रमा संगठनकी नगर सदस्य सुस्मा अधिकारीले हस्ताक्षर गरेकी छिन् । ज्ञापन पत्र बुझाउन राधिका ओझा, लक्की सिटौला , सुस्मा अधिकारी लगायतको प्रतिनिधि मण्डल नगरपालिका कार्यालय पुगेको थियो ।

Leave a Reply

Your email address will not be published.