धुलो उडेपछि स्थानीयद्वारा तीन घण्टा सडक अवरुद्ध

भद्रपुर,२८ भदौ । जिल्लाको सदरमुकामस्थित चन्द्रगढीका स्थानीयले तीन घण्टा मुख्य सडक अवरुद्ध पारेका छन्। ठेकेदारले समयमा कालोपत्रे नगर्दा सडकबाट आएको धुलोले प्रभावित भएको भन्दै स्थानीय र व्यवसायीले सोमबार बिहान ८ बजेदेखि ११ बजेसम्म सडक अवरुद्ध पारेको स्थानीय व्यवसायी रमेश न्यौपानेले जानकारी दिए।
उनीहरुले मेची राजमार्गको चारआली(केचना सडक खण्डअन्तर्गत कृषि विकास बैंक अगाडिदेखि ट्रेड युनियन चोकसम्मको करिब ३०० मिटर सडकमा डोरी लगाएर बन्द गरेका थिए। सदरमुकाम जोड्ने मुख्य सडक बन्द हुँदा सवारीसाधन अवरुद्ध भएको थियो।

प्रभावितले मुख्य सडक बन्द गराएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सडक खुलाउन सहजीकरण गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले बताए।

त्यसपछि भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको रोहवरमा निर्माण कम्पनीका प्रतिनिधि मेघराज भट्टराई र प्रभावित स्थानीयबीच एकबुँदे लिखित सहमति भएको छ। सडकको निर्माण मंगलबारदेखि सुरु गर्ने र सहमतिअनुसार काम नभए फेरि सडक बन्द गर्ने सहमति भएको स्थानीय नवराज घिमिरेले जानकारी दिए।

चारआलीदेखि केचनासम्मको ४० किलोमिटर कालोपत्रे सडक निर्माण कार्यअन्तर्गत २० किलोमिटर सडकखण्ड निर्माणको ठेक्का कालिका, कनकाई र याकथुमहाङ जेभीले २०७३ असोज १७ गते ३० महिनामा काम सक्ने गरी लिएका हुन् ।

सम्झौताको अवधि सकिए पनि निर्माण कम्पनीले म्याद थपेर अहिले पनि ठाउँ(ठाउँमा कालोपत्रे गरिरहेको हुलाकी राजमार्ग आयोजना क्षेत्रीय कार्यालय इटहरीले बताएको छ। भद्रपुरको सगरमाथा चोकदेखि संगमचोक, भानुनगर हुँदै गिरी चोकसम्म कालोपत्रे गर्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published.