ब्याज छुट तथा सहुलियत कर्जाका लागि बैंर्कसहरुसंग छलफल

दमक,११ भदौ । दमक उद्योग वाणिज्य संघले कोरोना महामारीका समयमा बैक लगायतका वित्तीय संस्थाले लिदैआएको व्याजदर छुट तथा सहुलियत कर्जाका बारेमा दमकका बैंकका शाखा प्रमुखहरुसंग छलफल सुरु गरेको छ ।
व्यवसायीहरुले लिएको ऋण लकडाउनको कारण व्यापार गर्न नपाए पनि व्याजमा छुट नपाएकाले व्याज छुटसहित सहुलियत कर्जाका विषयमा बैंर्कसहरुसंग छलफलको आयोजना गरिएको वाणिज्य संघकी संघसंस्था समन्वय उपसमितिकी संयोजक लक्की सिटौलाले बताइन् ।
यसैक्रममा विहिबार दमक उद्योग वाणिज्य संघमा सरोकारपक्षहरुसंग छलफल गरिएको थियो । छलफलमा संघका अध्यक्ष गोकुल श्रेष्ठले केही दिन अघि व्यवसायले बुझाएको ज्ञापन पत्रको माग अनुसार संघले स्थानीय सरकार, संघको माथिल्लो निकाय सम्म व्याज छुटका बारेमा छलफल थालिएको बताए । उनले लामोसमयसम्म कोभिडका कारण व्यापार,व्यवसाय ठप्प रहेको अवस्थामा बैकले समेत त्यस अवधिको व्याजमा छुट दिनु तथा सहुलियत कर्जाका लागि सहजीकरण गरिदिनुपर्ने धारणा राखे ।
छलफलका क्रममा संघका पूर्व अध्यक्ष प्रकाश प्रसाईले विगतमा बैंक र व्यवसायीको सम्बन्ध सदैव नङ र मासुको जस्तो भएकाले भर अभरमा कसैले कसैको साथ नछोड्न र सम्बन्ध सदैव कायम राख्दै बैंकले ब्याजमा छुट ब्याजको हर्जना नलिने र पहिलेकै धितोमा थप केही प्रतिशत ऋण दिने वातावरण सिर्जना गर्नु पर्ने माग गरे ।
व्यवसायीको तर्फबाट संगम स्वीट्सका सञ्चालक विमल शर्मा र व्यवसायी सन्दिप चापागाईंले बैंकको शाखाबाट केही गर्न नमिल्ने भएपनि आफ्नो माथिलो निकायमा समन्वय गरेर व्यापारीको माग बुझेर व्यापारीलाई केही न केही सहज हुने खाले कार्यक्रम ल्याउन आग्रह गरेका थिए ।
सबैको बैंकको प्रतिनिधित्व गर्दै बैंकर्स एसोसिएसन दमकका अध्यक्ष राजन बस्नेतले बैंकको शाखाबाट केही गर्न नसकिने तर थप ऋणको व्यवस्था भने विभिन्न बैंकहरुले गर्दै गरेको बताए । उनले भने, –‘यस विषयमा गम्भीर भएर माथिल्लो निकायमा पहल गर्ने छौं ’
उक्त कार्यक्रममा दमकमा रहेका विभिन्न बैंकका शाखा प्रमुख, बैंकका प्रतिनिधि,संघका सदस्य, व्यापारी लगायतको उपस्थिति रहेको थियो ।
संघकी संघसंस्था समन्वय उपसमितिकी संयोजक सिटौलाका अनुसार व्याजदरमा छुट तथा सहुलियत कर्जाका बारेमा बैकसंगै अव दमकका सहकारी संघसंस्थाहरु समेत छलफल गरिने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published.