
उर्लावारी,६ भदौ । श्रीमान र श्रीमतीबीचको झगडा मिलाउन खोज्दा मोरङको मिक्लाजुङमा एक पुरुषको हत्या भएको छ । मिक्लाजुङ गाउँपालिका–७ का ४३ वर्षीय धनराज लिम्बूको हत्या भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । मिक्लाजुङ–६ का ३३ वर्षीय रविन तामाङ र उनका भाइहरु ३० वर्षीय आइतराज एवं २६ वर्षीय सञ्जय तामाङसहितले आक्रमण गरेको दुई दिनपछि लिम्बूको मृत्यु भएको श्रेष्ठको भनाइ छ ।
उनका अनुसार मिक्लाजुङ–७ भण्डारी टोलमा डेरा गरेर बस्दै आएका रविन र उनकी श्रीमती निरुताबीच झगडा भएको सुनेपछि लिम्बू भदौ ३ गते राति ८:४० बजेतिर घटनास्थलमा पुगेका थिए । झगडा भएको सुनेपछि रविनका जेठान ४० वर्षीय भाग्य बम्जन (तामाङ ) आफ्नो मासु पसलमा आएका छिमेकीहरु ५५ वर्षीय दुर्गाबहादुर कार्की र लिम्बूलाई लिएर बहिनी–ज्वाईंको डेरामा गएको खुलेको छ । मिलेर बस्न र परिवारमा झगडा नगर्न भनेर सम्झाउने क्रममा रविन, आइतराज र सञ्जयसहितले लिम्बू र कार्कीमाथि दाउराले कुटपिट गरेको डीएसपी श्रेष्ठको भनाइ छ ।
उनका अनुसार पारिवारिक विवादमा बाहिरका मान्छे प्रवेश गरेको भन्दै सामूहिक रूपमा आक्रमण गरिएपछि गम्भीर घाइते भएका लिम्बूको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा शनिवार राति ११:४५ बजेतिर मृत्यु भएको हो । कुटपिटबाट सामान्य घाइते भएका दुर्गाबहादुर भने उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्नलाई पक्राउ गरेर कर्तव्य ज्यान मुद्दा चलाउन घटनाको अनुसन्धान थालिएको जानकारी डीएसपी श्रेष्ठले दिए । रविनका जेठान भाग्यलाई पनि नियन्त्रणमा लिएर घटनाका बारेमा सोधपुछ गर्ने काम भइरहेको प्रहरीको भनाइ छ ।