
काठमाण्डौ, ६ भदौ । चौथो विश्व संस्कृत दिवस श्रावण पूर्णिमा ९ऋषितर्पणी० को दिन पारेर भदौ ६ गते आइतबार मनाइएको छ । जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा २०७५ सालदेखि विश्व संस्कृत दिवस मनाउन प्रारम्भ गरिएको हो । चौथो विश्व संस्कृत दिवसको आयोजना नेपाल, अमेरिका र बेलायतका विभिन्न संस्थाहरूले संयुक्त रुपमा गरेका छन् ।
नेपालबाट नेपाल संस्कृत विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालयको संस्कृत केन्द्रीय विभाग र सोही विश्वविद्यालय अन्तर्गतको त्रिचन्द्र महाविद्यालयस्थित दर्शनशास्त्र तथा मनोविज्ञान विभाग, जयतु संस्कृतम्, सनातन धर्म महासंघ र जरो किलो प्रतिष्ठान, अमेरिकाबाट सहृदयता इन्टरनेशनल र विश्व भूटानी हिन्दू संगठन तथा बेलायतबाट नेपाली हिन्दू फोरम यूकेको सहकार्यमा यो दिवस मनाइएको हो ।
नेपालमा चौथो विश्व संस्कृत दिवसको मूल समारोह वाल्मीकि विद्यापीठ, प्रदर्शनी मार्ग, काठमाडौँमा आयोजना गरिएको छ । कोरोना भाइरस महाव्याधिका कारणले सरकारले जारी गरेको निर्देशन अनुसार सानो संख्यामा मात्र प्रत्यक्ष उपस्थित भएर र देश तथा विदेशबाट प्रविधि मार्फत् ठूलो संख्यामा सहभागिता रहेको जनाएको छ ।
नेपालका विभिन्न भूभागका साथै भारत, अमेरिका, बेलायत, अष्ट्रेलिया, इजरायल, दक्षिण कोरिया, कतार लगायतका देशहरूमा चौथो विश्व संस्कृत दिवस मनाउन कार्यक्रमहरू भएका जरोकिलो महाअभियानका संकल्पकर्ता एवं काठमाडौँ विश्व विद्यालयका सहप्राध्यापक डा निर्मलमणि अधिकारीले जानकारी दिए ।