
बिर्तामोड, ४ भदौ । बिर्तामोडको एक होटलमा खाजा खाइरहेका व्यक्तिको भिडियो खिचेर चरित्र हत्या गर्ने युट्युबरसहित ६ जना विरुद्ध उजुरी परेको छ । पीडितले भिडियो खिचेर युट्युबमा प्रसारण गरिदिने युट्युबरसहित ६ जना विरुद्ध इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दर्ता गराइएका छन् ।
प्रहरीका अनुसार होटल जंगल भ्यू चारआलीका संचालक हेमराज भट्टराई , सोही ठाउँका स्नुकर पूल संचालक सुवास कार्की , युट्युवर खगेन्द्र घिमिरे , भाष्कर श्रेष्ठ , सामाजिक सञ्जालमा भिडियो अपलोड गर्ने कल्पना थापा बस्नेत र चन्दा प्रसाई पोखरेल विरुद्ध उजुरी परेको छ । कानुन बमोजिम काबाहीको माग गर्दै उजुरी दर्ता गराइएको प्रहरीको भनाई छ । गत मंगलबार राती मेची आँखा अस्पताल अगाडि रहेको एक होटलको कोठाभित्र बसेर खाजा खाइरहेका व्यक्तिको भिडियो खिचेर सार्वजनिक गरिएको थियो । सो कार्यको चौतर्फी विरोध भएको छ ।
सामाजिक सञ्जालमा आम नागरिकले व्यक्तिगत जीवनमा प्रवेश गरेर चरित्र हत्या गरेको आरोप लागेको छ । अभद्र व्यवहार सम्बन्धी उजुरी परेकोे इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले बताए ।