
दमक,१७ साउन । दमक उद्योग वाणिज्य संघले व्यवसायीहरुलाई कोरोना विरुद्धको खोप दिन स्थानयि सरकारसंग माग गरेको छ । संघले नगरपालिकालाई ‘एक प्यान एक खोप ’ अन्तर्गत खोप दिन माग गरिएको दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले बताए ।
प्यान नम्बर लिएर व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरुलाई अनिवार्य खोपको सुनिश्चितता गर्न दमक नगरपालिकासँग माग गरिएको उनले जानकारी दिए। देशका विभिन्न शहरमा त्यहाँका सरकारले उद्योगी ,व्यवसायीलाई प्राथमिकताका साथ खोप दिदैआएको स्मरण गराउदै उनले यहाँ भने पटक पटक त्यस्तो माग गरिएपनि सुनुवाई नभएको गुनासो गरे ।
दमकमा रहेका ८ हजार बढि ब्यापारी सघंमा दर्ता भएका भएपनि व्यवसाय सञ्चालन गर्न अनुमतिका लागि प्यान नम्बर लिएका ब्यापारीलाई मात्रै भएपनि खोप दिन उनले माग गरे । ती मध्ये आधाले मात्र प्यान नम्बर लिएर व्यवसाय गरिआएका अनुमान संघको छ ।
यसले स्थायी लेखा नम्बर लिएर व्यापार ,व्यवसाय गर्न सरकारी नियमलाई समेत टेवा पुग्ने उनको भनाई छ । सरकारी सेवा पाउन सरकारी निकायमा आपूm संस्थागत हुनुपर्ने रहेछ भन्ने कुराको अनुभुति पनि ब्यापारीमा हुने भएकाले आफ्नो ब्यवसायिक फर्मको पान नम्बरका आधारमा खोप उपलब्ध गराउन ध्यानाकर्षण गराइएको उनले जानकारी दिए ।
व्यवसायीद्धारा जिल्ला प्रशासनलाई ज्ञापनपत्र
उद्योगी व्यवसायीहरूको टोलीले तत्काल कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गर्दै झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई ज्ञापनपत्र बुझाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ को टोलीले प्रमुख जिल्ला अधिकारीलाई भेटेर खोपमा व्यवसायीलाई प्राथमिकता दिन माग गरेको हो ।
बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले व्यवसायीहरुलाई प्राथमिकतामा राखेर सरकारले खोप अभियान सञ्चालन गर्न आनाकानी गरिरहेको सन्दर्भमा प्रमुख जिल्ला अधिकारीलाई भेटेर ध्यानाकर्षण गराइएको जानकारी दिए । प्रदेश १ का अध्यक्ष टीकाराज ढकाल नेतृत्वको टोलीले तत्काल व्यवसायीहरुले खोप पाउनुपर्ने माग प्रमुख जिल्ला अधिकारी समक्ष राखेको थियो ।