स्वदेशी उत्पादनको उपभोग बढाउन माग

विराटनगर, १७ साउन । मोरङका उद्योग सङ्गठन र मोरङ व्यापार सङ्घले ‘मेरो देश मेरै उत्पादन’ अभियानलाई जनस्तरसम्म पुरयाँउने अभियानको थालनी गरेका छन् ।
स्वेदशी वस्तुको उपभोग बढाउँदै देशलाई आत्मनिर्भर बनाउन निजीस्तरबाट उद्योग वाणिज्य सङ्घहरूले अभियान शुरु गरेका हुन् । अभियानलाई सार्थक बनाउन भन्दै सङ्घले प्रदेश सरकारसँग पनि प्रतिबद्धता माग गरेका छन् । प्रदेश १ का मुख्यमन्त्रीसहित मन्त्रीलाई अभियानको लोगो फ्रेम र प्रतिबद्धता पत्र हस्तान्तरण गर्दै अभियानमा सहयोग गर्न माग गरेका हुन् ।
उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घले मुख्यमन्त्री शेरधन राईसहित मन्त्रीहरूलाई ‘मेरो पहिलो रोजाइ स्वदेशी उत्पादन हो, म मेरो दैनिक आवश्यकता स्वदेशी उत्पादनबाटै पूरा गर्दछु, म आफ्ना छिमेकी, साथीभाइ, इष्टमित्रलाई स्वदेश उत्पादन प्रयोगका लागि प्रेरित गर्दछु र उच्च स्वाभिमान र गौरवका साथ स्वदेशी उत्पादनको प्रवद्र्धनमा लागि पर्नेछु’ भन्ने चार बुँदे सर्त बुझाइएको छ ।
उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले सबैसँगको साझेदारीमा स्वदेशी उत्पादन प्रवद्र्धनका लागि सरकारका प्रमुखहरूलाई प्रतिबद्धता पत्र बुझाइएको जानकारी दिए । यो अभियानलाई आगामी पाँच वर्षभित्रै सार्थक बनाउनका लागि प्रदेश १ का सबै स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारसँग प्रतिबद्धता खोजिएको मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले बताए ।
मुख्यमन्त्री राईले अभियानलाई सार्थक बनाउँदै आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न सहयोग पुरयाउने प्रतिबद्धता व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published.