
सुन्दरहरैँचा ,१६ साउन । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचामा शुक्रबार दिउँसो दुर्घटना हुँदा एक जना बृद्धको मृत्यु भएको छ । पूर्वतर्फ जाँदै गरेको को २ प ९५१६ नम्बरको मोटरसाइकल र प्रदेश १–०२–००१ ख ८६५४ नम्बरको ट्रक एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । सुन्दरहरैँचा नगरपालिका–१० विराटचोकमा दुर्घटनामा परेर मोटरसाइकल चालक सुन्दरहरैँचा नगरपालिका–१२ का ७२ वर्षीय दामोदर भट्टराईको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए ।
उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका भट्टराईको उपचारका क्रममा विराटनगरको कोसी अस्पतालमा दिउँसो २.३० बजेतिर मृत्यु भएको हो । ट्रक र चालक तेह्रथुम घर भएका ३२ वर्षीय दालाक्पा शेर्पालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनास्थलमा दुवै चालकको साथमा सवारी चालक अनुमति पत्र (लाइसेन्स ) भेटिएन । मोटरसाइकलले अचानक सडक पार गर्ने क्रममा दुर्घटना भएको प्रहरीको भनाइ छ ।