
दमक, ४ साउन । सडक दुर्घटनाबाट दमक ५ निवासी राष्ट्रिय धावक तेजेन्द्र प्रधानको मृत्युभएको छ । नौ दिन अघि दमक- २ स्थित आम्दा अस्पताल सडकखण्डमा बा.१६ च. ३७२६ नम्बरको कारको ठक्करवाट गंभीर घाईते भएका २५ बर्षिय प्रधानको बिर्तामोडस्थित बिएण्डसी अस्पतालको सघन उपचार कक्षमा आइतवार राती ८.४५ वजे उपचारका क्रममा मृत्युभएको पारिवारिक स्रोतले जनाएको छ । तीव्र गतिमा आएको कार अनियन्त्रित भई दौडिरहेका प्रधानलाई ठक्कर दिएको थियो । ठक्करवाट प्रधानको टाउकोमा गहिरो चोट लागेको थियो ।
धावक प्रधानले छोटो समयमा नै मोफसलदेखि राष्ट्रिय स्तरका दौड प्रतियोगितामा विभिन्न पुरस्कार प्राप्त गरेका माओवादी केन्द्र दमकका सचिव तिर्थराज बस्नेतले जानकारी दिए । धावक प्रधानलाई दौड खेलमा नजिकबाट सहयोग पुरयाँउदै आएकी दमक ९ निवासी संघीय संसद सदस्य महेन्द्रकुमारी लिम्बूले दमकले एउटा आशलाग्दो प्रतिभा गुमाएको उल्लेख गरिन् । यसैवीच प्रहरीले दुर्घटनामा संलग्न कार र त्यसका चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।