लामो दुरीका सवारीलाई जोर विजोर प्रणालीमा चलाउन दिने तयारी


काठमाडौं, ३१ असार। सरकारले काठमाडौं उपत्यकाबाट लामो दूरीका सार्वजनिक सवारीलाई जोर बिजोर प्रणालीमा चलाउन दिने तयारी गरेको छ । कोरोना भाइरस नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण लामो दूरीको सवारी साधन चलाउन रोक लगाइएकोमा अब जोर बिजोर प्रणालीका आधारमा संचालन गर्न दिने तयारी भइरहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज विहीबार अपरान्ह ४ बजे बस्ने र निषेधाज्ञा साथै लामो दूरीका सार्वजनिक यातायात संचालन गर्न दिनेबारे निर्णय हु्ने भएको छ । लामो दूरीका सवारी संचालन गर्नेबारे यसअघि नै मन्त्रिपरिषद्मा सिफारिस भइसकेको र अब बस्ने मन्त्रिपरिषद् बैठकले त्यसको निर्णय लिनसक्ने पनि प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए ।

निषेधाज्ञा पनि अहिलेकै अवस्थामा जारी राख्ने वा थप क्षेत्र पनि खुकुलो बनाउने भन्नेबारे पनि बैठकले निर्णय गर्ने पराजुलीले जानकारी दिए । पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको अवधि आज विहीबार राती १२ पछि सकिँदैछ । उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.