
इलाम २८ असार । कोरोना सङ्क्रमित इलामका पत्रकार बुद्धवीर राईलाई १ नम्बर प्रदेशस्तरीय प्रादेशिक सञ्चार प्रतिष्ठानले आर्थिक सहयोग गरेको छ । आइतबार प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलले इलाम सदरमुकाममा आयोजित एक कार्यक्रममा २५ हजार प्रदान गरेका छन ।
सञ्चार प्रतिष्ठानले कोभिड सङ्क्रमित पत्रकारलाई उपचारमा सहयोग गर्ने कार्यक्रमअन्तर्गत पत्रकार राईलाई सो रकम प्रदान गरेको प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्माले बताईन । नेपाल पत्रकार महासङ्घ जिल्लासँगको सहकार्यमा प्रदेश १ का १४ वटै जिल्लाका सङ्क्रमित पत्रकारलाई सहयोग गरिरहेको जानकारी दिईन। पत्रकारमा कोरोना संक्रमण भएर अक्सिजनमा बस्नु परेमा रु २५ हजार र भेन्टिलेटरमा बस्नु परे रु ५० हजार नगद उपचारवापत हस्तान्तरण गरिने जनाइन ।
सञ्चार प्रतिष्ठानले जिल्लामा रहेका क्रियाशील पत्रकार र प्रमुख जिल्ला अधिकारी तथा प्रशासन प्रमुखसँग सञ्चार क्षेत्रको समस्याका विषयमा छलफलसमेत गरेको छ । पत्रकारको तर्फबाट महासङ्घ इलाम अध्यक्ष विप्लव भट्टराईले पत्रकारको समस्या कागजीभन्दा पनि व्यावहारिकरुपमा अघि बढाउन प्रतिष्ठानलाई आग्रह गरेका छन।
कोरोना भाइरसको सङ्क्रमणबाट इलाममा १८ पत्रकार सङ्क्रमित भएको र हाल अझै चार पत्रकार सक्रिय सङ्क्रमित रहेको महासङ्घ इलाम शाखाका सचिव भीम चापागाईंले बताए ।