विराटनगर जहदा गाउँपालिका–१ मोरङका वडा अध्यक्ष प्रदीपचन्द यादवसहित संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष राजकुमार यादवले सोमवार दशगजा क्षेत्रमा भारतीय पक्षले केहि दिनदेखि निर्मार्णाधिन सडक निर्माण गर्न रोक लगाएका छन् । वडा अध्यक्ष यादब संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित वडा अध्यक्ष हुन् । फोरमका जिल्ला अध्यक्ष यादवले निर्माण भइरहेको सडकको काम रोकेर नेपालका सीमा सुरक्षा बल र प्रमुख जिल्ला अधिकारीलाई खवर गरेका थिए ।
भोलिपल्ट मङ्लवार विहान नेपाल तर्फबाट सशस्त्र प्रहरी बल नेपाल गण हेक्वाटर मोरङ नम्बर ३ गणका गणपति मनिष थापाले भारतीय सीमा सुरक्षा बल ५६ वटालियको डिपुटी कमान्डर मनिन्द्रकुमार सिङसँग समन्वय गरी स्काभेटर लगाई हटाएको हो । दशजगामा भारतीय पक्षले निर्माण गरेको सडक पुर्न दुवै मुलुकका सीमा सुरक्षा अधिकारीहरू उपस्थित भएका थिए । नेपाल तथा भारततर्फको सुरक्षा अधिकारीबीच मंगलबार बिहान भएको छलफलपछि सडक निर्माण गर्न दशगजामै खाल्डो खनेर निकालिएका माटो फेरी खाल्डो खनिएकै ठाउँमा हालेर पुरेको हो । जहदा गाउँपालिका बडा नं १ कालाबन्जर र भारततर्फ अररिया कुस्माहा ग्राम पंचायत ४ आमगाछी भन्ने ठाउँमा सीमा स्तम्भ नं. १७४ र दुई सहायक सीमा स्तम्भदेखि ५०० मिटर पश्चिम भारततर्फको दशगजा भित्र पर्ने १ सय ५० मिटर कच्ची वाटो दुवै देशका सीमा सुरक्षा अधिकारीले समन्वय गरेर पुरेको हो ।
फोरम नेपालका मोरङ अध्यक्ष राजकुमार यादवले अन्तर्राष्ट्रिय नियमविपरीत भारतलाई दशगजा मासेर सडक निर्माण गर्न नदिने बताउदै उनले सडक निर्माणले सीमावर्ती नेपालका अधिकांश बस्ती डुबानमा पर्ने भएकाले सडक निर्माण गर्ने नदिएको बताए । दश गजाको दुवैतर्फ दशगजा अर्थात ९.१ मिटर खाली राख्नुपर्ने प्रावधान भएपनि भारतीय पक्षले सो ठाउँमा दशगजा मिचेर सिमानामा राखिएको पिलरकै छेउमा सडक निर्माण शुरू गरेको थियो । दश गजा मिचेर निर्माण गर्न लागिएको सो सडकका कारण नेपालतर्फको जहदा गाउँपालिकाका विभिन्न वडाका साथै विराटनगर महानगरपालिकाको वडा नं. १८ डुबान हुने खतरा समेत थियो । आगामी दिनहरूमा समेत दशगजा र सिमाना मिचेर हुनसक्ने गतिविधिप्रति नेपाली सुरक्षा निकाय र प्रशासन थप सजग रहनुपर्ने जहदा गाउँपालिका–१ का वडाध्यक्ष प्रदीपचन्द यादवले बताए । जहदा गाउँपालिकाको वडा नम्बर–१ को करिव ८ किलो मिटर भारतीय सीमासँग जोडिएको छ । नेपालतर्फ दशगजा क्षेत्र विद्यमान रहे पनि भारतीय किसानहरूले मासेर खेती समेत गर्दै आएका छन् ।