रतुवा खोलामा ल्यान्डमार्क पुल निर्माणको प्रगति ६० प्रतिशत पुग्यो

दमक,१२ मंसीर । एसियाली विकास बैंकको ऋण सहयोगमा स्तरोन्नति भइरहेको काँकडभित्ता–लौकही सडक खण्डअन्तर्गत झापाको रतुवा खोलामा नमुना पुल निर्माण भइरहेको छ ।झापाका रतुवा, लोहेन्द्रा र बग्राहा गरी तीन वटा पुललाई एउटै प्याकेजमा ठेक्का लगाएर काम अघि बढाइएको हो ।
काँकडभित्ता–लौकही सडक योजना पश्चिम खण्डअन्तर्गत रहेको यो पुल निर्माणको हालसम्मको भौतिक प्रगति ६० प्रतिशत पुगेको छ । तीन वटा पुलको लागत ५ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।
तीन सय मिटरभन्दा लामा पुललाई आकर्षक बनाउन ल्यान्डमार्क ब्रिजका रूपमा निर्माण भइरहेको काँकडभित्ता–लौकही सडक योजना पश्चिम खण्डका योजना प्रमुख जगत प्रजापतिले जानकारी दिए । पूर्वी खण्डमा पनि तीन सय मिटरभन्दा लामा पुल यही नमूनाअनुसार निर्माण भइरहेको छ ।
तीन वटा पुलको एउटै प्याकेजको ठेक्का सम्झौता रकम साढे ५ अर्ब रुपैयाँ, दुई नम्बरको ४० किलोमिटर खण्डका लागि साढे ९ अर्ब रुपैयाँ र तीन नम्बर प्याकेजका लागि साढे ४ अर्ब रुपैयाँ रहेको छ ।
उनले भने, ‘रतुवा पुल, लोहेन्द्रा र बग्राहा गरि तीन वटा पुल पश्चिम खण्डअन्तर्गत पर्छन्, यी लामा पुल आकर्षक बनाउने हिसाबले ल्यान्डमार्क ब्रिजका रूपमा विकास गर्ने हिसाबले बीचका स्प्यान लामो स्प्यानमा लैजाने र चौडा बनाउने हिसाबले अघि बढेका छौँ, अहिले रतुवाको हेर्दा तीन वटा स्प्यान लगभग २ हजार ८ सय मिटरका रहेका छन्, जम्मा ५८५ मिटर रहेको पुलमध्ये बीचको तीन स्प्यान ८८ मिटरको तीन वटा रहेको छ, चौडाइ पनि साढे १६ मिटर छ ।’
झापाको दमक नगरपालिका र कमल गाउँपालिका जोड्ने रतुवा खोलाको कुल ५ सय ८५ मिटर लामो पुलको बिचको ८८ मिटरका तीन स्प्यानमा स्टिल फ्याब्रिकेशन गरेर पुल निर्माण भइरहेको छ । ग्याल्बनाइज्ड स्टिल प्रयोग गर्न निर्माण कम्पनीले मोरङको उर्लाबारीमा फ्याक्ट्री बनाएर काम गरिरहेको छ । कोभेक सीआरीजिसी टुण्डी कन्ट्रक्सनले निर्माण गरिरहेको पुलमा स्टिलको काम चिनियाँ पक्षको प्रत्यक्ष सहभागितामा भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.