माघ १९ बाट बुढासुब्बा गोल्डकपको २५ औँ संस्करण

धरान,८ पुस । बुढासुब्बा गोल्डकप फुटबल यसपालिको २५ औँ संस्करण माघ १९ देखी २६ गते सम्म रजत उत्सवको रूपमा आयोजना गरिने भएको छ । धरान फुटबल क्लबले सोमबार पत्रकार सम्मेलन प्रतियोगिताको तयारी भइसकेको जानकारी दिएको हो ।
प्रतियोगितामा ८० लाख १० हजार रुपियाँ अनुमानित खर्च लाग्ने धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले बताए । प्रतियोगिताका लागि अनुमानित आय एक करोड दुई लाख २५ हजार रहेको उनले बताए । बुढासुब्बा गोेल्डकप रोजगारमुलक र व्यवसायी मुलक बनाउने योजनासहित लागि परिरहेको अध्यक्ष तामाङले बताए ।
नेपाली फुटबलको इतिहासमा धरान फुटबल क्लबले गर्ने अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिताले फुटबल जगतमा इँटा थप्ने काम गरेको कोशी प्रदेश खेलकुद सङ्घका अध्यक्ष किशोर राईले बताए । २०५५ सालदेखि सुरु भएको प्रतियोगिता कोभिडका कारण दुई वर्ष रोकिए पनि त्यस पश्चात निरन्तर भइरहेको उनले जनाएका छन् ।
प्रतियोगितामा चर्च ब्वाईज क्लब (लिग च्याम्पियन), एनआरटी क्लब काठमाडौं, नेपाल पुलिस क्लब, भुटान फुटबाल क्लब एकाडेमी, त्रिभुवन आर्मी क्लब, ईटहरी जागृत क्लब, युके एफसी (भारत), मच्छीन्द्र क्लब काठमाडौं, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा, धरान फुटबल क्लबले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा विजेताले १० लाख रुपियाँ, उपविजेताले पाँच लाख रुपियाँ पाउनेछ । यस्तै, उत्कृष्ट खेलाडीलाई एक लाख, सर्वाधिक गोल कर्तालाई ३५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १५ हजार रुपियाँ प्रदान गरिनेछ । उत्कृष्ट विधाका खेलाडीलाई जनही २५ हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा उपविजेताले पाउने पाँच लाख रुपियाँ धरान–१५ निवासी हाल पोर्चुगलमा रहेका अरुण राईले सौजन्य प्रदान गर्ने अध्यक्ष तामाङले बताए । गत वर्षको विजेता एनआरटी क्लब काठमाडौं र उपविजेता जिल्ला फुटबल संघ मोरङ भएको थियो ।

Leave a Reply

Your email address will not be published.