
बिर्तामोड,७ पुस । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले बलियो कांग्रेस बनाउन प्रतिबद्ध भएर लाग्ने बताएका छन् । झापाको बिर्तामोडमा आज आयोजित आभार तथा धन्यवाद ज्ञापन कार्यक्रममा उनले अब नेपाली कांग्रेस पार्टीलाई बलियो र रुपान्तरिक बनाउन लागिपर्ने बताए ।
महामन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक झापा जिल्लावासीसँग शुभकामना लिन आएको बताउदै उनले वडादेखि माथि सबै तहमा जीत हासिल गर्नेहरुलाई सघाएर अघि बढ्ने प्रतिबद्धता जनाए ।
काठमाडौंबाट झापाको भद्रपुर विमानस्थल ओर्लिएर गृह जिल्लाको माटो ढोगेर बिर्तामोड आएका थिए । शदिह राम थापा र विपी कोइरालाको शालिकमा माल्यार्पण गर्दै झापा कांग्रेसको जिल्ला कार्यलय पुगेर कार्यक्रमस्थल आएका शर्माले तमात कांग्रेस कार्यकर्ताले चाहे जस्तो पार्टी बनाई छाड्ने उद्घोष गरे ।
आभार कार्यक्रममा उनले झापा कांग्रेसलाई बलियो बनाउन सबैले सबैलाई सघाएर जानुको विकल्प नभएको बताए । शर्माले भने, ‘मैले कुनै गुटको भोट पाएको होइन । कांग्रेस रुपान्तरणका लागि दिइएको भोटका कारण महामन्त्रीमा निर्वाचित भएको हुँ । अब कांग्रेस उमेरलाई होइन, एजेण्डालाई स्थापित गर्दै अघि बढ्नेछ ।’
महामन्त्री शर्माले नेपाली कांग्रेसका कार्यकर्तालाई संयम र शालिन बन्न आग्रह गरेका छन् । रुपान्तरित कांग्रेसका लागि भातृ संगठनहरुको महाधिवेशन, प्रविधिमा फड्को र प्रवृत्तिमा सुधार अहिलेको आवश्यकता भएको उनको धारणा छ ।