
संखुवासभा, ७ पौष । आफ्नै श्रीमतीको हत्याको आरोपमा संखुवासभाको पाचखपन नगरपालिका ३ का दिपन राई पक्राउ परेका छन् । गत पौष ५ गते राती १२ बजेको समयमा राईको २९ बर्षीया श्रीमती बिष्णु माया राईलाई हत्या गरेको अभियोगमा उनी पक्राउ परेका हुन् ।
ईलाका प्रहरी कार्यालय वानाबाट घटनास्थलमा खटिएको अनुसन्धान टोलीले प्रारम्भिक अनुसन्धान गर्ने क्रममा मृतकको शरिरमा केही चोट पटक देखे संगै घटना बारेमा सुक्ष्म अनुसन्धान थालेको थियो । घटनास्थलको प्रारम्भिक अनुसन्धान संगै मृतकलाई पोष्टमार्टमको लागी धरान पठाएको थियो भने अन्य अनुसन्धान जारी नै रहेकोमा बिष्णु मायाको आत्महत्या तथा भवितव्य बाट मृत्यु नभई कर्तब्यबाट हत्या भएको खुल्न आएसंगै मृतककै श्रीमान राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी सामु निजले नै आफैले हत्या गरेको साबिति बयान दिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । राईले श्रीमतीसंग सामान्य बिषयमा बादबिबाद हुँदा आफ्नो रिशको आवेगलाई थाम्न नसक्दा श्रीमतीको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । श्रीमतीको हत्या आरोपमा पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको उक्त कार्यालयले जनाएको छ ।