
दमक, ६ पुस । प्रदेश -१ का मुख्यमन्त्री राजेन्द्र राईले मानवता बीचमा आपसी प्रेम, सद्भाव, आत्मियता, बन्धुत्व र भाइचाराको विकास गर्न धार्मिक संस्थाहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
नेपालको संविधान व्यवस्थाले नै धार्मिक स्वतन्त्रता र अधिकारको ग्यारेन्टी गरेको बताउदै उनले संविधानप्रदत सवैले धर्म ,संस्कार र संस्कृति मान्न पाउने स्वतन्त्रा रहेको जोड दिए ।
इसाई समाजले दमकमा आज आयोजना गरेको ख्रिष्टमस शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मुख्य मन्त्री राईले क्रिश्चियन धर्मावलम्बीहरुको धार्मिक र साँस्कृतिक अधिकारका लागि आफूले सहयोग गर्ने बताए । इसाई धर्मावलम्बीहरुको मृत्यू संस्कारमा शब दहनका लागि उपयुक्त क्षेत्र छुट्याउन प्रदेश सरकारले पहल गर्नेमा ढुक्क हुन उनले आग्रह समेत गरे ।
इसाई समाज प्रदेश १ का अध्यक्ष पाष्टर बिक्रम बर्णबास येक्तेन लिम्बूको अध्यक्षतामा कार्यक्रम सम्पन्न सो कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश १ का अध्यक्ष राम थापा, रेभ दानियल सुब्बा लगायतले ख्रीष्ट जन्मोत्सवको अवसरमा शुभकामना राखेका थिए ।
इसाई समाज दमकका पूर्वअध्यक्ष पाष्टर राजकुमार राईका अनुसार प्रदेश १ बाट १४ जिल्लाका प्रतिनिधित्व रहनेगरी सहभागि भएको कार्यक्रममा झापा, मोरङ र सुनसरीबाट ठुलो संख्यामा इसाई धर्मावलम्बीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा दमक, उर्लाबारी लगायतका चर्चहरुका कलाकारहरुले गीत, नृत्य प्रस्तुत गरेका थिए ।