आर्मीलाई हराउदै सिरहाको सलहेश क्वाटरफाइनलमा

बिर्तामोड, १ पुस । उपाधिको दाबेदार मानिएको त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा आयोजित प्रथम झापा कपको क्वार्टर फाइनल खेलबाटै बाहिरिएको छ ।
सिरहाको सलहेश युवा क्लबसँग २–० गोल अन्तरले पराजित हुँदै आर्मी खेलबाट बाहिरिएको हो । झापामा हुने प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको सलहेशले आर्मीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
सलहेशको जितमा अभि लामा र आदित्य शाक्यले गोल गरे । खेलको १८ औँ मिनेटमा अभि लामाले गोल गर्दै सलहेशलाई १–० को स्थितिमा पु¥याए । मैदानको मध्यभागबाट लामाले गरेको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले बचाउ गर्न सकेनन् । कुथु लडेको अवस्थामा मैदानमा ड्रप भएर बलले जाली चुमेको थियो ।सलहेशको लागि दोस्रो गोल आदित्य शाक्यले गरे । आर्मीका दुईजना डिफेन्डरले क्लियर गर्न नसकेको बललाई शाक्यले गोलकिपर कुथुलाई बिट गर्दै सुन्दर गोल गरेका थिए ।
खेलको ३७ औँ मिनेटमा सलहेशका जोराह ग्लोरीले डिबक्सबाट गरेको शक्तिशाली प्रहार दायाँ पोलमा लागेर बाहिरिएपछि खेलमा थप गोल गर्ने अवसरबाट बञ्चित भएको थियो ।
आर्मीले खेलमा बल पोजिसन राखे पनि स्कोर भने निकाल्न सकेन । खेलको २० आँै मिनेटमा आर्मीका निरज भुजेलले विपक्षी डिबक्समा पाएको बल सदुपयोग गर्न सकेनन् । उनको फितलो प्रहार सलहेशका गोलकिपर दिप कार्कीले सहजै नियन्त्रणमा लिए । ५५ औँ मिनेटममा आयुष तिमिल्सिनाले गरेको हेडर विफल हुँदा आर्मीका समर्थक निराश भएका थिए ।
खेल अनुशासन उल्लंघन गरेको भन्दै रेफ्री श्याम दनुवारले आर्मीका कप्तान भरत खवासलाई खेल सकिएपछि रातो कार्ड दिएका थिए ।खेलको प्लेयर अफ द म्याच सलहेशका अभि लामा घोषित भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए । मंगलबारको दोस्रो क्वार्टर फाइनल खेल भारतको जिटिए दार्जिलिङ र राष्ट्रिय जागृति क्लब इटहरीबीच हुने आयोजकले जनाएको छ ।
शनिबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपजिेताले नगद ५ लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले १० हजार नगद पाउनेछन् । प्रतियोगिताको उच्च गोलकर्ता एकजना तथा उत्कृष्ट गोलकिप्पर एकजनालाई ३५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।त्यस्तै, प्रतियोगिताको एक उदीयमान खेलाडीलाई झापा ट्यालेन्ट घोषणा गरेर नगद ३५ हजार रुपैयाँ प्रदान गरिनेछ ।प्रतियोगिताको सर्वोत्कृष्ट एकजना खेलाडीलाई मस्ट भ्यालुएवल खेलाडी घोषित गरेर नगद १ लाख रुपैयाँ प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।

प्रतियोगितालाई रोमाञ्चक बनाउँदै प्रोत्सहान गर्न बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले प्रत्येक दिन एकजना भाग्यशाली दर्शकलाई हिमस्टार टिभी प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published.