इलाम,२७ मंसिर । इलाममा जारी ‘दोस्रो इलाम गोल्डकप’ मा साविक विजेता न्यूरोड टिम ‘एनआरटी’ फाइनलमा प्रवेश गरेको छ । प्रतिस्पर्धी रेडस्टार झापालाई १ का विरुद्व २ गोलले हराउँदै एनआरटीले इलाम गोल्डकपको फाइनल यात्रा तय गरेको हो ।
बिहीबार सम्पन्न सेमीफाइनल चरणको अन्तिम खेलमा एनआरटीका अञ्जान विष्टले ४५ मिनेटमा पहिलो गोल गरे । उनको यो गोल एनआरटीमा प्रवेश गरेपछिका पहिलो (डेब्यू ) गोल हो ।
५३ औं मिनेटमा रेडस्टार झापाबाट खेलेका विदेशी खेलाडी इमानुवेल बोटेक्सले एनआरटीविरुद्व जवाफी गोल फर्काउँदै खेललाई बराबरीमा पुर्याए । ६१औं मिनेटमा विवेक गुरुङले एनआरटीका तर्फबाट दोस्रो गोल गरे । उनले गरेको यो गोल नै एनआरटीका लागि निर्णायक बन्यो । यो जितसॅगै एनआरटीले इलाम गोल्डकप उपाधिका लागि लिग विजेता चर्च ब्वाइज क्लबसॅग भिड्नेछ । बिहीबारको खेलमा एनआरटीका तर्फबाट पहिलो गोलकर्ता विष्ट म्यान अफ दि म्याच घोषित भए ।
मसिंर २१ गते सुरु भएको प्रतियोगितामा भारतको एकसहित ८ टिम सहभागी थिए । प्रतियोगिताको फाइनल खेल मंसिर २९ गते हुँदैछ । विजेताले नगद १० लाख र उपविजेताले पाँच लाख रुपैयाँसहित उपाधि प्राप्त गर्नेछन् ।