अनावश्यक भार हल्का भएपछि उत्साहित छन् सुवास

-तेजन खड्का

मोरङ,१४ मंसिर । ऐंजेरुले पुरै शरीर ढाकेपछि उपचार खर्च खोजिरहेका मोरङको मिक्लाजुङ–५ खोलिटारका सुवास राई यतिबेला काठमाडौं साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा भर्ना भएका छन् ।
सानो छँदा गालामा मासुको सानो लुर्को मात्र थियो । उसैबेला उनका बाबु आमाले सुवासको उपचार गर्ने प्रयत्न गरे । तर, उपचार भन्दा बिहान बेलुकाको जाउलो जुटाउने समस्या जटिल बनिदिँदा सुवासको गालामा पलाएको ऐंजेरु पत्तै नपाई निक्कै ठूलो भइसकेको थियो । सुबासको शरीरका प्रायः सबै भागमा अनपेक्षित रुपमा मासु पलायो । घाँटीदेखि पछाडि डाढमा मासुको डल्ला भुण्डिएयो । दाहिने हात, अनुहार र कानमा पनि मासुको डल्लो पलायो । अब ऐनामा उभिँदा उनी आफैंलाई चिन्न छाडिसकेका थिए । अरुले पनि उनलाई अनौठो मानेर हेर्न थाले ।
अनुहारमा साना दाना, घाँटीदेखि पछाडि डाढसम्म झुण्डिएको अजङगको मासुका थैलाले राती सुत्दा र बस्दा पेलिएर असैह्य पिडा हुने गरेको सुबासले बताउँछन् । सुत्नबस्न नमिलेर छटपटी–छटपटी रात काट्दाको सकस भनि साध्य छैन । आफ्नो शरिरमा पलाएको मासुको डल्ला बढेर अनुहार नै कुरुप देखिएको भन्दै उनलाई हिँडडुल गर्न नै कठिन थियो । एकैतिर कोल्टे परेर सुतेको पनि वर्षौ भइसक्यो । यसरी सुत्दा निन्द्रा पनि लाग्दैन । भन्छ्न, ‘छटपटी र अनिदोँमा रात÷दिन बित्ने गरेको छ ।’
मोरङको दुर्गम गाउँ खोलिटारमा बस्दै आएका सुवासको उपचार उपचारका लागि स्थानीय शङ्कर बजगाईंले पहल गरेका छन् । शंकरले भने, देशविदेशबाट सुवासको उपचारका लागि सहयोग गर्ने प्रतिवद्धता मिलेको छ, हामीले आर्थिक अभाव हुँदा थोरै रकम हस्पिटलमा डिपोजिट गरेर अस्पताल भर्ना गरेका छौ ।
सुवासको अवस्था देखेर कठै भन्ने धेरै छन्, तर प्रयाप्त सहयोग मिलेको छैन, भाई मोहन राईले भने । मासुका ६ किलोका पोका शरीरमा झुन्ड्याएर कैयौं वर्ष सर्भाइभ गर्दा पनि उनको आँगनमा सरकार पुगेन । सरकारका कारिन्दा पुगेनन् । सुवास जस्ता बिरामीका नाउँमा निश्चय नै बजेट आउँदो हो र किर्ते कागज बनाएर बजेट सफाचट हुँदो हो । नत्र सिंहदरवार गाउँ पसेकै अहिले ५ वर्ष पुगेको छ । तर यस्ता बिरामीहरु उपर न मेयर, न वडा अध्यक्ष न वडा सदस्य कसैको नजर पर्दैन । उनीहरु आफ्ना बेरुजु हिसाब मिलाउनै ब्यस्त । सुवास जस्ता नजाने कति बिरामीहरु आज गाउँगाउँमा नारकीय जीवन जिउन बाध्य छन् । कतै उनीहरु ओछ्यान परेका छन् । कतै उनीहरु भीख मागेर खाइरहेका छन् । कतिले आत्महत्या गरिसके ।
अहिले अस्पतालले सुवासको उपचारमा सहयोग गर्ने भनेको छ । तर काठमाडौं जस्तो ठाउँमा औषधी लगायत साना तिना खर्च निक्कै हुन्छ । जसको लागि कतैबाट सहयोग नजुट्दा मोहन भन्छन्, ‘सहयोग भएन भने काठमाडौं जस्तो ठाउँमा कसरी उपचार गराउने होला रु’
उनले देशविदेशबाट सुवासको उपचारका लागि चासो बढेपछि केहि आशा भने पलाएको बताए । सुवासको हेरचाह गर्दै आएकी बहिनी तारा राईले काठमाडौं जस्तो ठाउँमा दाजुको उपचार हुने कुराले खुशी प्रकट गरिन् । उनले भनिन्, ‘हामी मोरङको पनि अत्ति विपन्न ठाउँमा बस्छौ । उपचारको त के कुरा खान पनि अर्काको बनिबुतो गनुपर्छ । शंकर दाईले गर्दा आज मेरो दाजुको उपचार हुने भएको छ । दाईलाई धन्यवाद दिन चाहन्छु ।’ ताराले दाजुको उपचार आकाशको फल जस्तो भएको सोचे पनि शंकर दाईको कारण हस्पिटल सम्म आईपुगेको बताईन् ।
रगत र कपडा सहयोग
सुवासको उपचारका लागि आज दुईजनाले ब्लड दान गरेका छन् । खुशीयाली धमाला र सेमिना लिम्बूले रगत दान गरेका हुन् । सुवासलाई रगत दिन पाउँदा खुशी हुँदै खुशीयालीले भनिन्, ‘मानव सेवा भन्दा ठुलो अरु के हुन सक्छ र रु’
यस्तै, पुराना कपडा लगाएका सुवासमा जाडोका लागि कोटेश्वरस्थित बिबश फेन्सी स्टोरकी सञ्चालिका रुपमा महतले न्यानो कपडा र नगद सहयोग गरेकी छिन् ।
शरीरमा पलाएको मासु देखेर स्कुलका साथीहरुले समेत घृणा गर्नथालेपछि सात कक्षा पढेर छोडेको सुवासले बताए ।
‘साथीहरु मलाई देखेर परपर भाग्न थाले । घिनाउन थालेको सहनै सकिनँ । त्यसपछि स्कुल जानै छाडेँ । सँगै पढेका साथीहरु अहिले कहाँ–कहाँ पुगिसके, म आफ्नो शरिरमा उम्रिएको मासुको डल्ला हेरेर टोलाईरहेको छु ’ उनी भावुक भए ।
आमा बितेपछि बुवा र भाइसँग बस्दै आएका उनको उपचारका लागि अस्पताल जाने आर्थिक स्रोतको अभावमा कैयौं वर्ष घरैमा थन्किएर बस्नुपर्यो ।
कुन रोगका कारण मासु पलाएको भन्ने पत्ता लगाउन सकिएको छैन । सानै छँदा अनुहारमा गाठागुठी देखिएको थियो । पछि उक्त गाँठागुठी ठूलो भयो । उनले दृढ आवाजमा भने, ‘उपचार सफल भए काम गरेर खाने थिएँ ।’
स्थानीय शंकर बजगाईंका अनुसार दिनदिनै सुवासको शरीरभरि मासुको डल्लो फैलिन थालेपछि स्थानीय युवाहरुको समूहले उपचारको लागि रकम संकलन गर्न सुरु गरेको थियो । हाल सुबासको पछाडि ढाडमा पलाएको मासु अप्रेसन गरि काटिएको छ । उनको मासुको रिपोर्टका लागि काठमाडौं मेडिकल कलेज लगिएको छ । रिपोर्ट एकसाता पछि आएपछि थप उपचार अघि बढ्ने स्वास्थ्यकर्मीले बताएका छन। पछाडिको मासु काटिपछी सुबासलाई ठुलो भारी बिसाएको महसुस भएको छ। खुशी हुँदै सुबास भन्छन् , खुशी छु, हस्पिटल ल्याउन सहयोग गर्नुहुने सबैमा धन्यवाद छ ।
……..

Leave a Reply

Your email address will not be published.